पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक ५०० सम्म पुग्न थाले
पाँचथर, ६ मङ्सिर । सडक पूर्वाधार र प्रचारप्रसार विस्तारसँगै पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । अहिले नेपाल र भारतबाट दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक पुग्ने गरेका छन् ।
फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राईका अनुसार चाररातेबाट कञ्चनजङ्घा, कुम्भकर्णलगायत नेपाल, भारतको सिक्किम र भुटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्त दुवैको मनोरम दृश्य देख्न पाइने भएकाले पर्यटक आकर्षित भएका हुन् ।
चौँरी महोत्सव, ‘उनको स्वीटर’ चलचित्रको छायाङ्कन तथा सामाजिक सञ्जालमा भएको प्रचारले पनि क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । तीन हजार ५०० मिटर उचाइमा रहेको चारराते पुग्न पाँचथरको फिदिम–प्राङबुङ तथा इलामको सन्दकपुर हुँदै सकिन्छ ।
पर्यटक बढेसँगै स्थानीय व्यवसायी उत्साहित भए पनि आवास, खानेपानी, विद्युत्, सडक र फोहरमैला व्यवस्थापनमा चुनौती देखिएको छ । सीमित घरबास र गोठबासका कारण पर्यटकलाई पर्याप्त सुविधा दिन कठिन भइरहेको स्थानीयले बताएका छन् ।
पर्यटन व्यवसायीले दीर्घकालीन पर्यटन प्रवर्द्धनका लागि थप पूर्वाधार विकास र व्यवस्थित योजना आवश्यक रहेको बताएका छन् ।
