कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल बढ्यो

दमौली (तनहुँ), ६ मङ्सिर। चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ।

व्यास नगरपालिका–५ स्थित मानुङकोटमा विशेषगरी बिहानपख कुहिरोले ढाकिएको दमौली बजार र सूर्योदयको मनमोहक दृश्य हेर्न दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन्। प्राकृतिक सौन्दर्य, मनोरम हिमशृङ्खला र कुहिरोको आकर्षणले मानुङकोट पर्यटकको रोजाइमा परेको हो।

वडाध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार पछिल्लो समय दैनिक तीनदेखि चार सय पर्यटक मानुङकोट पुग्ने गरेका छन्। कतिपय पर्यटक अघिल्लो रात नै त्यहाँ बसेर बिहानको सूर्योदय र कुहिरोको दृश्यावलोकन गरी फर्किने गरेको उहाँले बताउनुभयो।

पर्यटकको आगमन बढेसँगै स्थानीय होटल तथा अन्य व्यवसायमा समेत चहलपहल बढेको व्यवसायी शैलेश सुनामले बताउनुभयो। पर्यटकको उपस्थितिले स्थानीय व्यवसायीलाई आर्थिक लाभ पुगेको उहाँको भनाइ छ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। विशेषगरी बिहानको समयमा दमौली बजारलाई कुहिरोले ढाकेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

दमौली बजार कुहिरोले ढाकिने दृश्यलाई स्थानीय पौराणिक कथासँग समेत जोडेर हेर्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *