चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्यो
सोलुखुम्बु, ६ मङ्सिर । सगरमाथा क्षेत्रमा चिसो बढेसँगै हवाई मार्गबाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको पछिल्लो साप्ताहिक तथ्याङ्कअनुसार खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी रहेको छ।
प्रहरीका अनुसार पछिल्लो सात दिनमा हवाई मार्गमार्फत खुम्बु क्षेत्रबाट एक हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक भित्रिएका छन्। यस अवधिमा भित्रिनेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या ६५१ ले बढी छ।
बाहिरिने पर्यटकमध्ये ८७७ विदेशी र ३०३ नेपाली रहेका छन्। त्यस्तै, खुम्बु क्षेत्रमा प्रवेश गर्नेमा ३७४ विदेशी र १५५ नेपाली पर्यटक छन्। बाहिरिने विदेशी पर्यटकमा ३२७ महिला र ५५० पुरुष तथा नेपालीमा ४६ महिला र २५७ पुरुष रहेका छन्। प्रवेश गर्ने विदेशी पर्यटकमा १०२ महिला र २७२ पुरुष तथा नेपालीमा ५४ महिला र १०१ पुरुष छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार पछिल्लो तथ्याङ्कले शरद् पर्यटन सिजन क्रमशः सकिँदै गएको देखाएको छ।
चिसो बढेसँगै पर्यटक फर्किने क्रम बढेको स्थानीय दाली शेर्पाले बताउनुभयो। उहाँका अनुसार नाम्चे क्षेत्रमा रातको तापक्रम माइनसमा जान थालेको छ। “रात र बिहानको समयमा तापक्रम माइनसमा गएपछि पानी जम्न सुरु भएको छ, त्यसैले चिसो बढेको महसुस भएको हो,” उहाँले भन्नुभयो।
सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये शरद् ऋतुमा असोज र कात्तिकमा पर्यटकको चाप बढी हुने गर्दछ। मनसुनपछि मौसम सफा हुने, हिमाल स्पष्ट देखिने र पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस समयमा पर्यटकको आगमन बढ्ने गरेको छ। तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्किन थाल्छन्।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले चिसो बढेसँगै पर्यटकको बसाइ अवधि र गतिविधिमा असर पर्ने बताउनुभयो। मौसम, तापक्रम, हिमपातको सम्भावना तथा पदयात्राको अवस्थालाई ध्यानमा राखेर पर्यटकले यात्रा व्यवस्थापन गर्ने भएकाले सिजनको अन्तिमतिर बाहिरिने क्रम बढ्ने उहाँको भनाइ छ।
पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाका अनुसार खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएको छ। जाडो सुरु भएपछि उच्च हिमाली क्षेत्रमा यात्रा कठिन हुँदै जाने भएकाले पर्यटकको सङ्ख्या घट्ने गरेको उहाँले बताउनुभयो।
लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरले पनि पर्यटकको आवागमनमा मौसमी अवस्था र पर्यटन सिजनको प्रत्यक्ष प्रभाव पर्ने बताउनुभयो। उहाँका अनुसार पर्यटकको चाप बढी हुँदा हवाई उडान बढ्ने र सिजन कमजोर हुँदै जाँदा बाहिरिने पर्यटकको सङ्ख्या बढ्ने गरेको छ। मौसमका कारण लुक्ला विमानस्थलको उडान गतिविधिसमेत प्रभावित हुने उहाँले बताउनुभयो।
पछिल्लो साप्ताहिक विवरणअनुसार खुम्बु क्षेत्रमा ६९ वटा प्लेन फ्लाइट र २८ वटा हेलिकप्टर फ्लाइट भएका छन्। खुम्बु क्षेत्रमा पर्यटक आवागमनका लागि हवाई सेवा प्रमुख माध्यम रहेकाले मौसम र पर्यटकको चापअनुसार उडान गतिविधिमा समेत परिवर्तन हुने गरेको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे र लुक्लालगायत क्षेत्र पदयात्रा, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि प्रमुख पर्यटकीय गन्तव्य हुन्। वसन्त र शरद् गरी दुई मुख्य सिजनमा यहाँ पर्यटकको चाप बढी हुने पर्यटनविद् आङछिरिङ शेर्पा बताउनुहुन्छ।
वसन्त सिजन फागुनदेखि जेठसम्म र शरद् सिजन भदौको अन्त्यदेखि मङ्सिरसम्म रहने मानिन्छ। शरद् सिजनको अन्तिम चरणमा उच्च हिमाली क्षेत्रमा चिसो बढ्नु र मौसममा परिवर्तन आउनुले पर्यटन गतिविधि प्रभावित हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउनुहुन्छ।
पछिल्लो साप्ताहिक तथ्याङ्कमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढी देखिएपछि सगरमाथा क्षेत्रमा शरद् पर्यटन सिजन अन्त्यतिर पुगेको सङ्केत देखिएको छ। आगामी दिनमा चिसो र मौसम प्रतिकूल बन्दै गए पर्यटकको आवागमन अझ घट्न सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको अनुमान छ।
