कञ्चनपुरकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव
कञ्चनपुर, ९ असोज । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो ।
“दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ”, उहाँले भन्नुभयो, “बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसबेला हात्तीकै प्रयोग हुन्छ ।”
उहाँका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ । अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन । भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमित गस्तीमा समस्या उत्पन्न हुने गरेको छ । हाल यहाँ दुई छावासहित चार भाले र चार पोथी गरेर आठवटा हात्तीमात्रै छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सबैभन्दा पुरानो हात्ती रुपकली हो । उसको उमेर ६० वर्षभन्दा बढी छ । शुक्लाकली नामक हात्तीले पाँच/छ महिनाअघि (श्रुतिकली) छावा जन्म दिएकी थिइन् । गत वर्ष चितवन राष्ट्रिय किुञ्जबाट नारायणीकली नामक हात्तीसँगै छावा संसचन्दगढलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा ल्याइएको थियो ।
संसचन्दगढसँगै नारायणप्रसाद, लवप्रसाद र सिद्धप्रसाद यहाँका भाले हात्ती हुन् । “रुपकली बूढो भइसक्यो, दुई छावा र तिनको माउलाई गस्तीमा लगिदैन”, संरक्षण अधिकृत ऐरले भन्नुभयो, “२०–२२ वर्षका तीनवटा हात्तीलाई गस्तीमा लैजान्छौँ, बर्खामा निकुञ्जको सबै क्षेत्रमा पुग्न गाह्रो हुन्छ ।”
निकुञ्जभित्र पिपरैया पोष्टमा पाँच, शुक्लाफाँटा पोष्टमा दुई र मालुमेला पोष्टमा एक हात्ती छ । वन्जजन्तुको उद्धारमा समेत प्रयोग गरिने हात्ती निकुञ्जको पूर्वी क्षेत्र अर्जुनी, बेलडाँडीलगायत ठाउँमा पनि थप गर्नुपर्ने देखिएको संरक्षण अधिकृत ऐरले बताउनुभयो ।
निकुञ्जभित्र जङ्गल गस्ती, वन्यजन्तु उद्धार, गणना, वैज्ञानिक अनुसन्धान, चोरी सिकारी नियन्त्रणमा हात्ती प्रयोग गरिँदै आएको छ । हात्तीलाई घुमाउनेदेखि स्याहार गर्न प्रत्येक हात्तीमा माउत, फणित र पछुवा गरेर तीन जना खटिने गरेका छन् ।