सर्वोच्चको आदेशले भारतीलाई न्याय, राष्ट्रपति र प्रधानमन्त्रीलाई नैतिक संकट
काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर हुने आदेश दिएको छ । सर्वोच्च अदालतले रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न समेत आदेश दिएको छ । सर्वोच्चले रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै तत्काल पक्राउ गरि थुनामा राख्न परमादेश दिएको हो ।
२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।
आफ्ना श्रीमानको हत्यारालाई रिहाई गरेको भन्दै चेतनकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उहाँ अनसनसमेत बस्नु भएको थियो । सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती असोज १७ देखि अनशन बस्नु भएको थियो ।
सर्वोच्च अदालतले रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न समेत आदेश दिएको छ । न्याय माग्दै काठमाडौंमा बस्दै आउनु भएकी उहाँले मुद्दा जितेपछि सर्वोच्चको पेटी ढोग्नु भएको थियो ।
कात्तिक १३ मा अनशन स्थलमै बेहोस भारतीले न्याय नमर्ने बताउँदै आउनु भएको थियो । अदालतबाट दोषी ठहर भएर जन्मकैदको सजाय पाएका उनी संविधान दिवसका अवसरमा असोज ३ गते सरकारले कैद माफी दिएपछि जिल्ला कारागार, दाङबाट छुटेका थिए । सर्वोच्चको फैसलासँगै राष्ट्रपति र प्रधानमन्त्री समेत नैतिक संकटम पर्नुभएको छ ।