नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री टोपबहादुर रायमाझीसहितको रिट स्थगित
काठमाडाैं, २१ चैत्र । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट स्थगित भएकाे छ ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा बुधबार उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको थियो । तर रिट निवेदकहरु कै तर्फका कानून व्यवसायीबाट स्थगित गरिएको सर्वोच्चले जनाएको छ ।
रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्दकुमार चौधरी, सागर राई, इन्द्रजित राई र सानु भण्डारीले उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
काठमाडौं जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत पाटनले पनि उनीहरूलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो । सोही प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणभने धरौटीमा रिहा भइसकेका छन् ।