काठमाडौंको साँखुमा स्कुल बस दुर्घटना हुँदा ३ को मृत्यु, ४० घाइते
काठमाडौं, माघ ३० । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा आज भएको स्कुल बस दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने दुर्घटनामा ४० जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी छ। एक जनाको एनएमसी अस्पताल, एक जनाको शंकरापुर अस्पताल र एक जनाको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सत्य साई एकेडेमी चाबहिलको बा २ ख ७९५८ नम्बरको बस विद्यार्थीहरूलाई पिकनिकका लागि नगरकोट लगेर फर्कने क्रममा साँझ ५ बजेतिर दुर्घटनामा परेको थियो। प्रहरीको प्रारम्भिक अनुमान अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको जनाइएकाे छ । बस चालक सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझी रहेका छन् ।
घाइते ४० जनामध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पताल, ३ जनाको शंकरापुर अस्पताल, १० जनाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज र ३ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
पिपुल्स लाइफ केयर अस्पतालमा उपचाररत घाइतेहरूको नामवली:
फिलिप लामा (१० वर्ष), प्रजोल थापा (१० वर्ष), भिम तामाङ (११ वर्ष), राम पररियार (१६ वर्ष), सुजन मगर (१६ वर्ष), सिरिसा सिवेदि (१२ वर्ष), प्रकाश बम (१६ वर्ष), साधन बिष्ट (१२ वर्ष), आराध्या शाह (१० वर्ष), आशिस तामाङ (१५ वर्ष), स्नेहा राइ (२१ वर्ष), गंगा ज्वति (४२ वर्ष), रन्जित थापा (१३ वर्ष), सुहाना गुभाजु (१३ वर्ष), श्रिसान्त पौडेल (१५ वर्ष), कल्पना रेज्मि (३२ वर्ष), बिकल्प श्रेष्ठ (१० वर्ष), नाइस्का पाण्डे (२३ वर्ष), सुविता तामाङ (१४ वर्ष), निशान्त पौडेल (१४ वर्ष), सौगात मगर (१४ वर्ष), अबित खान (१० वर्ष) र २ जनाको नाम आउन बाँकी।
शंखरापुर अस्पतालमा उपचार्थ:
आदित्य सुनार (१२/१३ वर्ष), धिरज साउद (१४ वर्ष), सन्देश गिरि (१३ वर्ष) रहेका छन् ।