केपी ओली कपको उपाधिका लागि आर्मी र मछिन्द्र भिड्दै, बुफोनको विशेष उपस्थिति

काठमाडौं, १९ फागुन । तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा आज त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो बहुप्रतीक्षित खेलमा दुवै टोली उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा हुनेछन्।

खेलको रौनक बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहनेछ। यसैगरी, इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिको रूपमा उपस्थित हुनुले खेललाई थप विशेष बनाएको छ।

रंगशाला दर्शकले खचाखच भरिएको छ र खेल सुरु हुनुअघि कलाकारहरूले सांगीतिक प्रस्तुति दिएर माहोललाई थप मनोरञ्जनात्मक बनाएका थिए।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यो च्याम्पियनसिप फागुन ११ गतेदेखि सुरु भएको हो। आजको फाइनल खेलले यस वर्षको केपी ओली कपको विजेता टुंगो लगाउनेछ।