सङ्घीय संसद्‌का दुवै सदनको बैठक आज: विभिन्न आयोगका वार्षिक प्रतिवेदन र महासन्धि पेस गरिँदै

काठमाडौँ, ३१ असार । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १:०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्ने गरी कार्यसूची तय गरिएको छ। आजको बैठकहरूमा विभिन्न संवैधानिक अंगका वार्षिक प्रतिवेदन तथा अन्तर्राष्ट्रिय महासन्धिहरू पेस हुनेछन्।

प्रतिनिधि सभा बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (साउन २०८१–असार २०८२), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन (आ.व. २०८१/८२) र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन (आ.व. २०८१/८२) पेस हुनेछ। ती प्रतिवेदनहरू प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सभासमक्ष पेस गर्नेछिन्।

यसैगरी, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ र ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ लाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यता, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *