राष्ट्रियसभा बैठक सुरु, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदै

काठमाडौँ, २२ फागुन । राष्ट्रियसभाको बैठक आज सुरु भएको छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा पाँचवटा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ।

बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ प्रस्तुत गरिनेछ। यी अध्यादेश यसअघि प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेका छन्।

यसैगरी, आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि आजै सभासमक्ष पेस गरिनेछ।