सरकारी जग्गा कब्जा गरेको आरोपपछि कांग्रेस सांसदहरूको नियमापत्ति

काठमाडौं, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ तारकेश्वर वडा नम्बर ९ मा रहेको सरकारी जग्गा नेपाली कांग्रेसका नेताले कब्जामा लिएर भोगचलन गर्दै आएको आरोप लगाएपछि नेपाली कांग्रेसका सांसदले आपत्ति जनाएका छन्।

सांसद श्रेष्ठले प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा उक्त विषय राखे लगत्तै काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित राजेन्द्रकुमार केसीले आपत्ति जनाएका हुन्। केसीसँगै कांग्रेसका अरु सांसदले पनि उठेर टेबल बजाउँदै आपत्ति जनाए।

सभामुख देवराज घिमिरेले संसदमा सांसदले राखेको विषय प्रमाणीत हुनेगरी र जिम्मेवारीपूर्ण ढंगबाट राखिएको संसदले विश्वास गर्ने भन्दै बादबिवाद नगर्न आग्रह गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘माननीय सदस्य ज्यूले आफ्नो समयमा आफूले राखेका कुरा, प्रमाणित हुनेगरी, जिम्मेवारीपूर्ण ढंगबाट राष्ट्रको सामु सार्वजनिक ढंगबाट राखिरहनुभएको हामीले बुझेका हुन्छौं र बुझ्नुपर्छ। त्यसरी राखिरहेको विषय र कुरा लान्छना हो, झुठो हो, यसरी नचाहिदाँ झुठा कुरा यहाँ राखेर भ्रम सिर्जन गर्न पाइदैन भन्ने कुरा माननीयज्यूले तलबाट मैले समय नदिदाँसम्म पनि तलबाट राख्नुभएको कुरा मैले यहाँ सुनिरहेको छु। त्यसैले यहाँ वादविवाद गर्ने होइन, यो कुराको लागि प्रक्रिया संगत ढंगबाट कसरी लाने भन्ने कुरा गर्नुपर्छ। त्यसै कारणले गर्दाखेरि सबै बोल्ने माननीय सदस्यले आफूले उत्तरदायी, जिम्मेवार र प्रमाणित हुनेगरी बोल्नुपर्छ र बोल्नुहुन्छ भन्ने हाम्रो बुझाई छ।’

त्यसपछि कांग्रेसका सचेतक सुशिला थिङले रास्वपा सांसद श्रेष्ठको भनाई संसदको रेकर्डबाट हटाउन माग गरिन्। सभामुख घिमिरेले फेरि पनि सांसदले राखेको विषय तथ्य र प्रमाण एवम सत्यतामा टेकेर राखिएको संसदले बुझ्ने भन्दै सांसदले बोलको विषय तत्काल रेकर्डबाटै हटाउन नसकिने तर, यसलाई अध्ययन अनुसन्धान गरेर मात्रै हटाउन सकिने बताउनुभयाे।

सभामुख घिमिरेले सांसदलाई कुनै पनि विषय र कुरा राख्दा जिम्मेवारीपूर्वक राख्न अनुरोध गर्नुभयाे । उहाँले भन्नुभयाे,‘त्यसैले गर्दाखेरि अहिले म यहाँहरुलाई के भन्दछु भने यहाँहरुले उठाउनुभएको विषयमा तपाइहरुले समय नपाउदाँ र माइक नपाउदाँ पनि यसरी एउटा राजनीतिक पार्टी भनेर बदनाम गर्नु भएन । त्यसैले यस्ता विषय उठाउदाँ पनि जिम्मेवारी पूर्वक राखेर अगाडि बढौं।’ त्यसपछि काँग्रेसका सांसद टेबल बजाउदैँ बसेपछि प्रतिनिधि सभाको शून्य समय अघि बढेको छ।