नेपाल सुपर लिग (एनएसएल)

पोखरा थन्डर्स क्वालिफायर टु मा

काठमाडौँ, ७ वैशाख । तेस्रो नेपाल सुपर लिग (एनएसएल)को इलिमिनेटरमा आइतबार पोखरा थन्डर्सले एफसी चितवनलाई ३–० ले हराएको छ । यस नतिजासँगै पोखरा थन्डर्स दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग खेल्ने भएको छ । सो खेल जित्ने टिमले फाइनलमा गत विजेता ललितपुर सिटी एफसीको सामना गर्नेछ ।

मध्यान्तरपछि तीनै गोल

दशरथ रङगशालामा पोखरा थन्डर्सले तीनै गोल उत्तरार्धमा गर्यो । पोखराले पहिलो गोल उपहारको रुपमा पाएको थियो । खेलको ६३ औँ मिनेटमा चितवनका अभिषेक लिम्बुको आत्मघाती गोलबाट पोखरालाई फाइदा भएको थियो । पोखरा थन्डर्सका स्ट्राइकर स्टेफन विनोङको पावरफुल सट चितवनका गोलरक्षक अमल नाइटले राम्रोसँग क्लियर गर्न सकेनन् । बल डिबक्सको दायाँ भागमा रहेका समिर तामाङको खुट्टामा पुग्यो । त्यसपछि समिरले गरेको क्रस विफल पार्ने क्रममा अभिषेकले बल आप्mनै गोलपोस्टमा छिराए । घानाका स्ट्राइकर जो आइडुले पोखराको अग्रता दोब्बर बनाए । जन्मे जे धामीको पासमा आइडुले डिबक्स बाहिरबाट प्रहार गरेको बल बारमा लाग्दै गोल भएको होे । खेलको ८० औँ मिनेटमा आइडुले पुन गोल गरेपछि पोखरा थन्डर्स दोस्रो क्वालिफायरमा पुग्ने पक्का भयो । वैकििल्पक खेलाडी चन्दन दासको पाउमा आइडुले फस्ट टचमै गोल गरेका हुन् ।

चितवनविरुद्ध पोखराको बदला

चितवनविरुद्धको जित पोखराका लागि बदला भएको छ । लिग चरणमा एफसी चितवनसँग पोखरा थन्डर्स २–० ले पराजित भएको थियो । गत संस्करणमा पोखरा थन्डर्स लिग चरणमा शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेपनि पहिलो क्वालिफायरमा धनगढी र दोस्रो क्वालिफायरमा ललितपुर एफसीसँग हारेर फाइनलमा स्थान बनाउन असफल भएको थियो । चितवनविरुद्ध शानदार जितले पोखरा यसपटक उपाधि दावेदारको रुपमा उभिएको छ ।

आइडु उत्कृष्ट खेलाडी

आइतबारको खेलमा पोखराका कप्तान आयुष इनर्जेटिक प्लेअर र दुई गोल गर्ने आइडु भ्यालुएबल प्लेअर अफ दि म्याच बन्नुभयो ।