भारतद्वारा ‘अपरेसन सिन्दूर’ जारी रहेको घोषणा, विपक्षी दलको सरकारलाई पूर्ण समर्थन
काठमाडौं, २५ वैशाख । भारतले पाकिस्तानी भूमिमा लक्षित गरी सुरु गरेको ‘अपरेसन सिन्दूर’ जारी रहेको स्पष्ट पारेको छ।
बिहीबार दिल्लीमा केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकपछि सरकारले उक्त जानकारी दिएको हो।
बैठकपछि केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजूले रक्षामन्त्री सिंहले ‘अपरेसन सिन्दूर’ बारे सबै दलका नेताहरूलाई विस्तृत जानकारी गराएको बताए। “अपरेसन सिन्दूर अनगोइङ अपरेसन हो,” मन्त्री रिजिजूले भने, “गम्भीर विषय भएकाले सबैले गम्भीरतापूर्वक आफ्ना कुरा राख्नुभयो। विभिन्न दलका नेताहरूले पनि आफ्ना कुराका साथै सुझाव दिनुभयो।”
उनका अनुसार बैठकमा सहभागी सबै दल र नेताहरूले सरकारलाई पूर्ण समर्थन गर्दै सेनाको कारबाहीप्रति ऐक्यबद्धता जनाएका छन्।
सर्वदलीय बैठकपछि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खरगेले बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुने अपेक्षा गरिए पनि त्यसो नभएकोमा दुःख व्यक्त गरे। “हामी चाहन्थ्यौँ कि प्रधानमन्त्री आफैं आएर सबै कुरा भन्नुहुन्छ। त्यसले सबैलाई राम्रै हुन्थ्यो। उहाँ यसअघिको सर्वदलीय बैठकमा पनि आउनु भएन। यो दुःखको कुरा हो,” खरगेले भने।
यद्यपि, उनले इन्डिया गठबन्धन लगायत सबै विपक्षी दलहरूले एक स्वरमा सरकारलाई समर्थन गरेको स्पष्ट पारे। “हामीले सरकारलाई अगाडि बढ, हामी पूरा सहयोग गर्छौं भनेका छौँ। हामी भारतीय सेनाको साथमा छौँ,” खरगेले भने।
भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको थियो।