बार्सिलोना र राफिन्हाबिचको सहकार्य जारी रहने

बार्सिलोना, जेठ ९ गते । बार्सिलोनाले शुक्रबार फरवार्ड राफिन्हासँगको करार सन् २०२८ सम्म थप गरेको छ ।

ब्राजिलका अन्तर्राष्ट्रिय स्ट्राइकर राफिन्हाले यस सत्र शानदार प्रदर्शन गर्दै ३४ गोल गर्नुका साथै २५ एसिस्ट प्रदान गरेका थिए । बार्सिलोनाका लागि यस सत्रमा रोवर्ट लेवान्डोस्कीले मात्र राफिन्हाले भन्दा बढी गोल गरेका छन् । बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले यस सत्रमा राफिन्हालाई नै सबभन्दा धेरै प्रयोग गरेका थिए ।

२८ वर्षीय राफिन्हाले च्याम्पियन्स लिगमा १३ गोल गरेर बार्सिलोनालाई सेमिफाइनलसम्मको यात्रा पनि गराएका थिए । बार्सिलोनाका जितको नजिक पुगेर पनि अन्तिम चारमा इन्टर मिलानसँग पराजित भएको हो । रियल म्याड्रिडसँगको चार क्लासिको खेलमा पनि राफिन्हाले चार गोल गरे । यस सत्रमा बार्सिलोनाले चारै खेलमा रियल म्याड्रिडलाई हराएको थियो ।

राफिन्हाकै शानदार प्रदर्शनले बार्सिलोनाले यस सत्रमा स्पेनी लिग, कोपा डेल र स्पेनीस सुपर कप जित्न सफल भयो ।

सन् २०२२ मा लिड्सबाट राफिन्हा बार्सिलोनामा आएका हुन् । उनले पहिलो सत्रमै १९ गोल र १२ एसिस्ट गरेका थिए । सन् २०२३–२४ सत्रमा राफिन्हाले १० गोल र १३ एसिस्ट गरे । एपी