पशुपति शवदाह गृह खरिदमा १० करोड भ्रष्टाचार: सदस्य सचिवसहित १६ विरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ, ८ असार । पशुपति क्षेत्र विकास कोषको विद्युतीय शवदाह गृहका लागि मेसिन खरिद गर्दा ठूलो भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका सदस्य सचिव मिलनकुमार थापासहित १६ व्यक्ति तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले आइतबार विशेष अदालतमा १० करोड ३३ लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै आरोपपत्र दर्ता गरेको हो।

अख्तियारका अनुसार, सार्वजनिक खरिद प्रक्रियालाई नै बङ्ग्याएर निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी ठेक्का दिइएको थियो। ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने मेसिनलाई अत्यधिक बढी मूल्य देखाएर मिलेमतोमा १० करोडभन्दा बढीको ठेक्का सम्झौता गरिएको अख्तियारको दाबी छ।

मुद्दा दायर गरिएका प्रमुख व्यक्तिहरूमा कोषका सदस्य सचिव थापा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, कार्यकारी निर्देशक घनश्याम खतिवडा, इन्जिनियरहरू र लेखा अधिकृत रहेका छन्।

यसैगरी, ठेक्का पाउने कम्पनी म्याप इन्टरप्रेनर्स र परामर्शदाता कम्पनी एप्पल इन्जिनियरिङका सञ्चालकहरूलाई पनि प्रतिवादी बनाइएको छ।

खरिद गरिएको मेसिन गुणस्तरहीन हुँदाहुँदै पनि भुक्तानी दिइएको र उचित मर्मतसम्भार नगर्दा हाल उक्त मेसिन सञ्चालनमा समेत नरहेको अवस्थामा पुगेको अख्तियारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *