करेन्ट लागेर बारामा बालकको मृत्यु, चार जना घाइते
बारा, ९ असोज । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेका अनुसार मृत्यु हुनेमा स्थानीय श्याम रामका छोरा आकाश रहेका छन्।
घरमा टेलिभिजन चलाउने क्रममा बिजुलीको तार सर्ट हुँदा करेन्ट लागेर आकाश गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिए पनि चिकित्सकले इसिजी परीक्षण गर्दा अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको पुष्टि गरेका थिए।
करेन्ट लागेका बालकलाई छुटाउने क्रममा उनकी ७० वर्षीया हजुरआमा ऐतबरिया देवी, १२ वर्षीया दिदी निलम, छिमेकी ४० वर्षीया फूलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा घाइते भएका छन्।
घाइतेमध्ये ऐतबरिया देवी, फूलकुमारी राम र अनिता शर्माको कोल्हवीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। निलमको कोल्हवीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
