येँयाः अवलोकन गर्न पुगेका विशिष्ट पदाधिकारीलाई कार्यवाहक प्रमुखबाट स्वागत : जुद्ध शालिकबाट गद्दी बैठकसम्म पैदल
काठमाडौँ, असोज ९ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले येँया (इन्द्रजात्रा) अवलोकनका लागि वसन्तपुर पुग्नुभएका राष्ट्रपति, उपराष्ट्रपति, कार्यवाहक प्रधानमन्त्रीसहित विशिष्ट पदाधिकारीलाई जुद्ध शालिक अगाडि स्वागत गर्नुभएको छ । स्वागतपछि कार्यवाहक प्रमुख डंगोलसहित विशिष्ट पदाधिकारी जुद्ध शालिकबाट पैदल गद्दी बैठकसम्म पुग्नुभएको थियो ।
येँया (इन्द्रजात्रा) अन्तर्गत जीवित देवीदेवता श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा आजदेखि सुरु भएको छ । वसन्तपुरस्थित कुमारी घर अगाडिबाट जीवित देवीदेवतालाई रथारोहण गराई रथयात्रा सुरु गरिएको हो ।
इन्द्रजात्राको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको मुख्य कार्यक्रमअन्तर्गत जीवित देवीदेवताको रथयात्रा हुने गर्दछ । रथयात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवसहित विशिष्ट पदाधिकारी वसन्तपुर पुग्नुभएको थियो ।
यस अवसरमा कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सभामुख डोलप्रसाद (डिपी) अर्याल, उपसभामुख रुबीकुमारी ठाकुरलगायत उच्च पदाधिकारीको उपस्थिति थियो ।
त्यस्तै, गृहमन्त्री सुदन गुरुङ, ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शोविता गौतम तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) सहित मन्त्री तथा अन्य विशिष्ट पदाधिकारी वसन्तपुर पुग्नुभएको थियो ।
इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुग्नुभएका विशिष्ट पदाधिकारीलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित जनप्रतिनिधि तथा विभागीय प्रमुखले जुद्ध शालिक अगाडि स्वागत गर्नुभएको थियो । स्वागतपछि उहाँहरू पैदल गद्दी बैठकसम्म पुग्नुभएको थियो ।
जात्रामा सहभागी महिला मन्त्रीहरूले परम्परागत हाकुपटासी पहिरन लगाउनुभएको थियो । स्थानीय कला, संस्कृति, परम्परा र मौलिक पहिरनको संरक्षण तथा प्रवर्द्धनको सन्देश दिने गरी उहाँहरूले हाकुपटासी लगाउनुभएको हो ।
येँया (इन्द्रजात्रा) काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । यस अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि, जात्रा र परम्परागत गतिविधि सञ्चालन हुने गर्दछन् । जीवित देवीदेवताको रथयात्रा जात्राको प्रमुख आकर्षणका रूपमा रहने गरेको छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
एआई मोडेल क्लडले पत्ता लगायो सीआरआईएसपीआरजस्तै नयाँ इन्जाइम प्रणाली : एन्थ्रोपिकको दाबी
