भक्तपुरको मौलिक मुपात्र जात्रा : यमद्योदेखि जयन्तको कथासम्म
भक्तपुर, ९ असोज । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने नेपाली उखान प्रचलित छ। तर भक्तपुरमा पनि यस्तै अनौठो र मौलिक जात्रा मनाइन्छ—मुपात्र जात्रा। इन्द्रजात्राको अवसरमा तीन दिनसम्म सञ्चालन हुने यो जात्रा भक्तपुरको सांस्कृतिक पहिचान बोकेको विशिष्ट परम्परामध्ये एक हो।
मुपात्रलाई शक्तिशाली तथा भयानक राक्षसको स्वरूपमा प्रस्तुत गरिन्छ। उनीसँगै दुई सहयोगी हुन्छन्, जसलाई स्थानीय भाषामा ‘धिःचा’ भनिन्छ। राक्षसको पोसाकमा सजिएर, अनुहारमा विभिन्न रङ पोतेर र हातमा तरबार बोकेका मुपात्र र धिःचा भक्तपुरका गल्ली तथा टोलमा नगर परिक्रमा गर्छन्।
तीन दिन, तीन ठाउँबाट मुपात्र
भक्तपुरमा मुपात्रलाई इन्द्रजात्राको छैटौँ दिनदेखि लगातार तीन दिन निकाल्ने परम्परा छ। पहिलो दिन दत्तात्रयस्थित सकुलान गणेश मन्दिरबाट, दोस्रो दिन दरबार क्षेत्रबाट र तेस्रो तथा अन्तिम दिन टौमढीस्थित भैरवनाथ मन्दिरबाट मुपात्र निकालिन्छ।
मुपात्रको मुख्य भूमिका इन्द्रजात्राका क्रममा भक्तपुरका विभिन्न टोलमा ठड्याइएका ‘यमद्यो’ अर्थात् इन्द्रका छोरा जयन्तको प्रतीक मानिने लिङ्गोलाई सजाय दिनु हो।
टोलटोलमा ‘चोर’का रूपमा समातेर ठड्याइएका यमद्योको मुपात्रले तीन दिनसम्म तीन पटक परिक्रमा गरी प्रत्येक पटक तरबारले प्रहार गर्ने परम्परा छ।
याँमताको पछिपछि मुपात्र
मुपात्र जात्रा ‘याँमता’ अर्थात् आकाशदीपसँग पनि जोडिएको छ। स्थानीय भाषामा याँमताको अर्थ आकाशदीप हो। त्रिशूल आकारको याँमताको माथि फर्किएका तीनवटा टुप्पामा बत्ती बालिन्छ।
जात्राप्रेमी स्थानीय राजभाइ माकका अनुसार जुन दिन याँमता निकालिन्छ, त्यही दिन मुपात्र पनि निकालिन्छ। याँमता ननिकालेसम्म मुपात्र निकाल्ने परम्परा छैन।
इन्द्रजात्राको छैटौँ दिन आश्विन कृष्ण द्वितीयामा भक्तपुर नगरपालिका–९ सकुलान टोलका मानन्धर समुदायले पहिलो जोडी याँमता निकाल्छन्। दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडिबाट निकालिएको याँमताको पछिपछि मुपात्रलाई नगर परिक्रमा गराइन्छ।
सातौँ दिन गोल्मढीका मानन्धर समुदायले याँमता निकाल्छन् भने आठौँ दिन तेखापुखुका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा सुकुन्दा बालेर ल्याएपछि बुलुचास्थित ढुङ्गेधारामा एक जोडी याँमता बालेर नगर परिक्रमा गराउने परम्परा छ। भक्तपुरमा इन्द्रजात्राका क्रममा जम्मा पाँच वटा याँमता जात्रा हुने गर्छ।
को बन्छ मुपात्र ?
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्द कर्माचार्यका अनुसार मुपात्र बन्ने व्यक्ति स्थानीय नेवार समुदायका नभई उपत्यकाबाहिरका व्यक्तिलाई बनाउने प्रचलन छ।
मुपात्र बनेपछि जात जाने र खाना तथा पानीसमेत नचल्ने सामाजिक मान्यता रहेकाले यो भूमिका निर्वाह गर्न व्यक्ति सहजै तयार नहुने बताइन्छ। त्यसैले परम्परादेखि नै निश्चित व्यक्तिलाई ज्याला दिएर मुपात्र बनाउने गरिएको कर्माचार्यले बताउनुभयो।
मुपात्रसहित उनका दुई सहयोगी धिःचालाई राक्षसको पोसाक लगाएर अनुहारमा विभिन्न रङ तथा शृङ्गार गरी हातमा तरबार थमाएर नगर परिक्रमा गराइन्छ।
भक्तपुरको अर्को आकर्षण पुलुकिसीले मुपात्रलाई भेटेर कुल्चिएर मारे पनि हात्ती बनेका पात्र र उनका सहयोगीलाई कुनै कानुनी कारबाही नहुने जनविश्वास रहेको छ। पुलुकिसीले नगरको आधाभन्दा बढी भाग परिक्रमा गरेपछि मात्र मुपात्र निकाल्ने परम्परा रहेको कर्माचार्यले बताउनुभयो।
यस्तो छ पुलुकिसी जात्रा
पुलुकिसी भक्तपुरको इन्द्रजात्राको अर्को प्रमुख आकर्षण हो। इन्द्रजात्राको अन्तिम साँझ भक्तपुर नगरपालिका–५ लाकुलाछें टोलबाट पुलुकिसी निकालिन्छ।
बाँसको मान्द्रोमाथि निलो कपडा ओढाएर अगाडिको भागमा हात्तीको सुँढ राखी पुलुकिसी तयार गरिन्छ। चार जनाले बोकेर नगर परिक्रमा गराउने पुलुकिसीभित्र एक जना बसेर घण्टा बजाउने परम्परा छ।
लाकुलाछेंबाट पुलुकिसीलाई टौमढी पुर्याइन्छ। भैरवनाथ मन्दिर अगाडि तीनपटक घुमाएपछि पुलुकिसी जात्रा अघि बढ्ने परम्परा छ।
इन्द्रजात्रासँग जोडिएको धार्मिक कथा
कला, संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष संस्कृतिविद् डा. इन्दुल केसीका अनुसार ‘येन्यापुन्ही’ अर्थात् इन्द्रजात्राको अर्थ इन्द्रको जात्रा हो।
लोककथनअनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई चतुर्मासको व्रत बस्न पारिजातको फूल आवश्यक पर्छ। स्वर्गमा फूल नपाएपछि इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजात खोज्न पृथ्वीमा पठाउँछन्।
फूल खोज्ने क्रममा जयन्त दैत्यहरूको बगैँचामा पुगेर पारिजात टिपिरहेका बेला राक्षसहरूले उनलाई पक्राउ गर्छन् र दुई हात पछाडि बाँधेर चोकमा उभ्याएर राख्छन्।
छोरा जयन्त पक्राउ परेको थाहा पाएपछि इन्द्र हात्तीमा सवार भएर पृथ्वीमा आउँछन्। राक्षससँग युद्ध गरी उनीहरूलाई पराजित गरेपछि जयन्तलाई मुक्त गराएर स्वर्ग फर्किएको धार्मिक कथा देवी पुराणमा उल्लेख रहेको डा. केसी बताउनुहुन्छ।
२१ टोलमा ठडिन्छन् यमद्यो
भक्तपुरको इन्द्रजात्रा नगरका विभिन्न टोलमा यमद्यो ठड्याएर सुरु हुन्छ। जात्राको पहिलो दिन भक्तपुर नगर क्षेत्रमा २१ टोलमा २१ वटा यमद्यो उठाउने परम्परा छ।
स्थानीय टोलवासी मिलेर उठाउने यमद्यो करिब २० देखि ३० हात अग्ला हुन्छन्। सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, चासुखेल, नासमनालगायत स्थानमा यमद्यो ठड्याइन्छ।
यस वर्ष भक्तपुरमा मुपात्र जात्रा असोज १२ गतेदेखि सुरु भएर असोज १४ गते समापन हुँदैछ। इन्द्रजात्राको यो मौलिक परम्परा धार्मिक आस्था, लोककथा र नेवार समुदायको सांस्कृतिक जीवनसँग गहिरोसँग जोडिएको छ। रेणु त्वानाबासु/रासस
