पाल्पामा पहिरोको वितण्डा, दुई घर भत्किए : एक महिला बेपत्ता

पाल्पामा दुई घर पूर्णरूपमा क्षतिग्रस्त

काठमाडौँ, असोज ९ । अविरल वर्षासँगै आएको पहिरोका कारण पाल्पामा दुई घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने एक महिला बेपत्ता हुनुभएको छ । पहिरोका कारण जिल्लाका विभिन्न सडकखण्डमा यातायातसमेत प्रभावित भएको छ ।

रिब्दीकोट गाउँपालिका ६ धुस्तुङस्थित गोलफानमा आज दिउँसो गएको पहिरोले स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पूर्णरूपमा क्षतिग्रस्त भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट निरन्तर वर्षाका कारण लेदोसहित ढुङ्गामाटो बगेर आउँदा पहिरो गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार रामबहादुरको चार जनाको परिवार सकुशल रहेको छ भने केसुरामको चार जनाको परिवारमध्ये उहाँकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु पहिरोमा परी बेपत्ता हुनुभएको छ । परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् । पहिरोले घर पूर्णरूपमा क्षतिग्रस्त भए पनि चौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ ।

लगातार वर्षा भइरहनुका साथै घरभन्दा माथिको मोटरबाटोबाट ढुङ्गामाटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता कृष्णकुमारीको खोजी कार्य जारी रहेको छ ।

यसैबीच, सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा मन्दिर नजिकै तथा तिनाउ–५ को चरचरे र जोरधाराबीचको सडकमा माथिबाट ढुङ्गा खस्दा केही समय यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि पहिरो खस्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ ।

यस्तै, रिब्दीकोट गाउँपालिका–५ माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । वर्षाका कारण सडकमाथिबाट पहिरो खसेपछि उक्त सडकखण्डमा आवतजावत प्रभावित भएको हो ।

सदरमुकाम तानसेनबाट पश्चिम भेग जोड्ने तानसेन–हार्थोक–छहरा सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ । हार्थोक–बतासे सडकखण्डको कसुमखोला क्षेत्रमा निर्माणाधीन सडकको माथिबाट पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा प्रभावित भएको स्थानीय भुवन रायमाझीले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सर्वसाधारणसँगै अत्यावश्यक सेवाका सवारीसाधनसमेत प्रभावित भएका छन् । बिरामी बोकेका एम्बुलेन्स तथा ग्रामीण क्षेत्रबाट सदरमुकाम र अन्य सहरमा दूध ढुवानी गर्ने सवारीसाधन बाटोमै रोकिँदा समस्या भएको स्थानीयको भनाइ छ । पहिरोका कारण दूधलगायत छिट्टै बिग्रिने वस्तुको ढुवानी प्रभावित हुँदा कृषक तथा व्यवसायीसमेत मारमा परेका छन् ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । लगातार वर्षा भइरहेकाले पहिरो हटाउने तथा सडक सञ्चालन गर्ने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।

यसैबीच, सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सिद्धार्थ राजमार्गको दोभान-सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबारदेखि सोमबारसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *