अखिल (क्रान्तिकारी)ले विद्यालय पोशाकमै विद्यार्थी सडकमा उतारेपछि प्रहरी हस्तक्षेप

काठमाडौँ, ३० असार । विद्यालयका बालबालिकालाई उनीहरूकै पोशाकमा राजनीतिक आन्दोलनमा सहभागी गराइएपछि आज काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

‘विद्यालय शान्ति क्षेत्र’को अवधारणा विपरीत विद्यार्थीहरूलाई प्रदर्शनमा प्रयोग गरिएको भन्दै प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेलको स्थिति सिर्जना भएको हो ।

नेकपा (बहुमत) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले ‘जनपक्षीय शिक्षा ऐन’ जारी गर्न माग गर्दै विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई सडकमा उतारेको थियो ।

प्रहरीले विद्यालय पोशाकमा रहेका बालबालिकाहरूलाई आन्दोलनमा प्रयोग नगर्न र उनीहरूलाई घर पठाउन आग्रह गरेको थियो । तर, प्रदर्शनकारीले प्रहरीको आग्रह अस्वीकार गरेपछि दुई पक्षबीच धकेलाधकेल भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

सो क्रममा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । विद्यालयका विद्यार्थीलाई राजनीतिक स्वार्थका लागि आन्दोलनमा प्रयोग गर्नु बालबालिकाको अधिकारको हनन हुने भन्दै यस्ता गतिविधिप्रति प्रहरीले कडाइ गरेको हो ।