साफ यु १७ मा नेपालको विजयी सुरुआत, समीरकुमारको दुई गोल
काठमाडौँ, ३० भदौ । साफ यु–१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । समीकर कुमार नायक बनेपछि नेपालले सोमबार पहिलो खेलमा घरेलु टिम श्रीलङ्कालाई २–० ले हरायो ।
श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङगशालामा भएको प्रतियोगताअन्तर्गत समूह एमा एक घन्टाभन्दा बढी समय एक खेलाडीको फाइदामा खेल्न पाउँदा पनि नेपालका लागि खेल सहज बन्यो । खेलको २८ औँ मिनेटमा श्रीलङ्का दस खेलाडीमा सीमित भएको थियो । मोहम्मद इफाम दोहोरो पहेँलो कार्डसहित मैदानबाट बाहिरिएका हुन् ।
खेलको ५२ औँ मिनेटमा प्रतिस थापा मगरको क्रसमा समीर कुमारले हेड गोल गरी नेपाललाई अग्रता दिलाए । इन्जुरी समयको तेस्रो मिनेटमा समीरले नै श्रीलङ्काका गोलरक्षक साथीन खटाफीसँगको ‘वन भर्सेज वन’मा गोल गरे ।
यस जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । नेपालले अर्को खेल तीन दिनपछि बङगलादेशविरुद्ध खेल्नेछ । बङगलादेश पछिल्लो संस्करणको उपविजेता टिम हो । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ । नेपालको समूहमा तीन टिममात्र छन् भने समूह बीमा गत विजेता भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् ।