साफ यु १७ मा बङगलादेशसँग नेपाल पराजित
काठमाडौँ, २ असोज । साफ यु–१७ च्याम्पियनसिपमा नेपालले बिहिबार राति बङगलादेशसँग ४–० ले पराजित भएको छ । श्रीलङ्काका अन्तर्राष्ट्रिय रङगशालामा भएको खेलमा बङगलादेशका लागि मोहम्मद सबिर इस्लाम, मेहम्मद ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मनिकले गोल गरे । बङगलादेश पछिल्लो संस्करणको उपविजेता टिम हो ।
सवीर इस्लामले ३० औँ मिनेटमा गोल गरी बङगलादेशलाई अगाड पारेका थिए । त्यसपछि उत्तराद्र्धको चौथो र पाँचौँ मिनेटमा रहमान र आरिफले लगातार दुई गोल गरेर नेपालको खेलमा फर्किने सम्भावनालाई कठिन बनाइदिए । खेलको ६६ औँ मिनेटमा मनिकले चौथो तथा अन्तिम गोल गरे
यसअघि, नेपालले पहिलो खेलमा घरेलु टिम श्रीलङ्कालाई २–० ले हराएको थियो । त्यसैले तीन टिम रहेको समूह एबाट नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना कायम छ । बङलादेश र श्रीलङ्काबिचको खेलले नेपालको भाग्य निर्धारण गर्नेछ । सो खेल बङगलादेशले जितमा अथवा बराबरीमा सकिएमा नेपाल अगाडी बढ्नेछ । श्रीलङ्काले जित हासिल गरेमा तीनै टिम समन अङ्कमा रहनेछ । त्यसपछि गोल अन्तरको आधारमा शीर्ष दुईको चयन हुनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ । नेपालको समूहमा तीन टिममात्र छन् भने समूह बीमा गत विजेता भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् ।
नेपालले अहलेसम्म उपाधि जित्न नसकेपनि चार पटक फाइनल खेलेको टिम हो । सन् २०१३, २०१७, २०१९ र २०२२ मा नेपाल फाइनलमा पराजित भएको थियो ।