८६ वर्षीय कवि श्रेष्ठको दुई भाषाका दुई कृति लोर्कापण

काठमाडौँ, २ कात्तिक । थानकोट (थक्वाः)का ८६ वर्षीय साहित्यकार कवि शिवप्रसाद श्रेष्ठ (पःमाय्)को नेपाली भाषा र नेपालभाषाका दुई वटा कविता संग्रहको लोर्कापण भएको छ ।

नेपाल सम्वत ११४६ तथा शुभदिपावलीको अवसरमा श्रेष्ठ (पःमाय्) परिवारको आयोजनामा थानकोटको मोर्डन पार्टी भेन्युमा वरिष्ठ साहित्यकार तथा समालोचक डा. योगेन्द्र प्रधानको प्रमुख आतिथ्यमा सो लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली भाषामा आमाको स्वर र नेपालभाषा(मातृभाषा)मा ह्याउँगु निभाःया जः नामक कविता संग्रहको लोर्कापण गरिएको हो । वरिष्ठ साहित्यकार तथा समालोचक डा प्रधानले कवि शिवप्रसाद श्रेष्ठले दुईवटा कविता संग्रहमा मुख्यतया राष्ट्रियता, मातृभाषा, देशप्रेम, नारीवेदना, धार्मिकता, ऐतिहासिक विषयवस्त समसामयिक विषयवस्तुलाई चित्रण आफ्ना भाग कोर्न सफल एक दुरदर्शी कवि हुन, भन्नुहुंदै कविताको समालोचना गर्नुभयो ।

नेपालभाषा केन्द्रिय विभागका सहप्राध्यापक डा. राजनलाल जोशीले दुईको कृति भित्र रहेको विभिन्न पक्षलाई साहित्यिक रुपबाट समालोचना गर्नुहुंदै नेपालभाषामा प्रकाशित कविताले नेपाली र नेपालभाषाको साहित्यप्रेमीहरुको लागि महत्वपुर्ण योगदान पुग्नेछ, भन्नुभयो ।

यसैगरी भुमि, उद्योग, प्रशासन तथा वाणिज्य वागमती प्रदेश मन्त्री विन्दु श्रेष्ठले आराम गर्ने उमेरमा पनि अल्छि नमानि दुई वटा कृति प्रकाशित गर्ने कवि शिवप्रसाद श्रेष्ठ थानकोटको एक बहुप्रतिभाशाली अभिभावक हुन्, भन्नुभयो ।

सो पुस्तक प्रकासनमा श्रेष्ठलाई परिवारले पनि उचित साथ दिएको छ । ह्याउँगु निभाःया जः का प्रकाशक बुहारी पद्मा खयरगोली र आमाको स्वर कविता सङ्ग्रहका प्रकाश छोरा रविन्द्रप्रसाद श्रेष्ठ हुनुहुन्छ । खयरगोलीले सो कार्यक्रमको संयोजन पनि गर्नुभएको थियो ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले कवि शिवप्रसाद श्रेष्ठ आफना गुरु रहेको र कविद्धारा लिखित नाटकमा पनि सामेल भएको बहुप्रतिभाशाली कविलाई पुनः अर्को कृतिहरु प्नि प्रकाशित गर्नको लागि शुभकामना दिदै गुरु कवि शिवप्रसाद श्रेष्ठ सिंगो चन्द्रागिरिकै सम्मानित व्यक्तित्व हुनुहुन्छ भने ,।

नेपालभाषाका कविताका सर्जक राजेन्द्र महर्जनले नेपालभाषाका कविताको संग्रहको प्राविधिक विषय र विषय छनौटको बारेमा चर्चा गरे ।

आयोजक तथा दुई कृतिका प्रकाशकको तर्फबाट खयरगोली(श्रेष्ठ)ले साधा जिवन उच्च विचारका धनि श्यामस्वेत पोशाकमा सजिएका कवि यो रंगिन संसारमा ८६ वर्षको बसन्तमा दुई भाषाको पाण्डुलिपी दस्तावेज तयार गर्नु निकै गौरवको विषय हो, भन्नुभयो यर्सैगरी उहाँले कवि शिवप्रसाद श्रेष्ठको पाण्डुलिपिमा मात्र कुण्ठित भएका अमुल्य भावलाई पाठकवृद्धसम्म पुर्याउने सपनालाई आफ्नै जिम्मेवारी र उत्तरदायित्व सम्झेर गरेको योजना सफल भएकोमा खुशी हुदै भविष्यमा पुनः अर्को कृति प्रकाशन गर्नेमा वचनवद्धता व्यक्त गरिन् ।

कवि शिवप्रसाद श्रेष्ठको दुई कृतिको संकलन, प्रकाशन तथा व्यवस्थापन कविका पुत्रदम्पति रविन्द्र प्रसाद श्रेष्ठ र पद्मा खयरगोली(श्रेष्ठ)को संयुक्त प्रयासमा ‘आमाको स्वर’ र ‘ह्याउँगु निभाःया जः’ प्रकाशन भएको हो ।