ग्रिसको राजधानी एथेन्समा गर्मी बढेसँगै पर्यटकीय क्षेत्रमा टोपीको माग उच्च
एजेन्सी, ७ भदाै । ग्रिसको राजधानी एथेन्समा गर्मी बढेसँगै ऐतिहासिक एवं पुरातात्त्विक स्थलहरूको भ्रमणमा निस्कने पर्यटकहरूबीच घामबाट जोगिन प्रयोग गरिने टोपीको माग अत्यधिक बढेको छ।
विशेषगरी एथेन्सको प्रसिद्ध पर्यटकीय स्थल एक्रोपोलिसतर्फ जाने उकालो बाटो तथा आसपासका पसलहरूमा परालका टोपी (स्ट्र ह्याट), पानामा ह्याट, बेसबल क्याप र बकेट ह्याटहरूको बिक्री बढेको छ। तथ्याङ्कअनुसार सन् २०२५ मा मात्रै एक्रोपोलिसमा करिब ४६ लाख पर्यटक पुगेका थिए, जहाँ छहारीको अभावमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा पर्यटकहरू घण्टौँ पैदल यात्रा गर्न बाध्य छन्। अस्ट्रेलियाली पर्यटक ज्याक योसिफले घामको कडा किरणबाट बच्नका लागि टोपी अहिले अनिवार्य जस्तै बनेको बताउनुभयो।
गत वर्ष ग्रिसमा कुल तीन करोड ८० लाख पर्यटक पुगेका थिए। अत्यधिक गर्मीका बाबजुद पर्यटक आगमन बढेपछि रेडक्रसका स्वयंसेवकहरूले एक्रोपोलिस क्षेत्रमा पर्यटकहरूलाई सनस्क्रिन, पिउने पानी, जानकारीमूलक पर्चा तथा टोपीहरू निःशुल्क वितरण गर्दै आएका छन्। स्वास्थ्यकर्मीहरूले पराबैजनी किरणको नकारात्मक असर र ‘हिट स्ट्रोक’ बाट जोगिन आवश्यक पूर्वसतर्कता अपनाउन सुझाएका छन्।
एथेन्सको सिन्टाग्मा स्क्वायरका स्थानीय किओस्क सञ्चालक कोन्स्टान्टिनोस मालिओसले पछिल्ला वर्षहरूमा टोपीको माग र बिक्री उल्लेख्य रूपमा बढेको जानकारी दिनुभयो। उहाँका अनुसार बजारमा सामान्य टोपीको मूल्य ६ युरोदेखि २० युरोसम्म पर्ने गर्छ।
यस्तै, हस्तनिर्मित एवं परम्परागत परालको टोपी उत्पादन गर्दै आउनुभएकी लिसा सारिगियानिडोउले विशेष डिजाइनका टोपीको मूल्य ५० युरोदेखि १०० युरोभन्दा बढीसम्म पर्ने बताउनुभयो। बढ्दो गर्मीका कारण फेसनका रूपमा मात्र नभई स्वास्थ्य सुरक्षाका लागि पनि टोपी लगाउने मानिसहरूको दृष्टिकोणमा ठूलो परिवर्तन आएको उहाँको भनाइ छ।