भक्तपुरमा पाकेटमार, लुटपाट र चोरी गर्ने गिरोह पक्राउ, ३८ पटक पक्राउ परेका ‘प्रोफेसर’ पनि सामेल

काठमाडौं, २७ कात्तिक । भक्तपुरका विभिन्न स्थानमा संगठित रूपमा पाकेटमार, लुटपाट र चोरी गर्दै आएको एउटा ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले भक्तपुर नगरपालिका-१ बाट ८ जनालाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-३ का २६ वर्षीय साधुराम भुजेल, २६ वर्षीय सुदीप भण्डारी, १८ वर्षीय राजिब भण्डारी, २९ वर्षीय सुजन भण्डारी रहेका छन् । यस्तै, मोरङ पथरी शनिश्चरे नगरपालिका-९ घर भई हाल सूर्यविनायक-८ बस्ने ४३ वर्षीय कृष्णबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ की २३ वर्षीया अनु गजमेर, रामेछाप दोरम्बा गाउँपालिका-८ का २२ वर्षीय बिशाल तामाङ र काभ्रेपलान्चोक महाभारत गाउँपालिका-६ का २७ वर्षीय सुरज तामाङ पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको साथबाट १ थान सुनको ब्रासलेट, २ थान औठी, १ जोर झुम्का, १ थान सिक्री, २८ सय अमेरिकन डलर, ६ हजार ६९० भारतीय रुपैयाँ, ४ लाख २८ हजार ८८० नेपाली रुपैयाँ, १४ थान मोबाइल, १ थान क्यामेरा, १ थान सर्जिकल ब्लेड, ४ थान मोटरसाइकल र बा. ४ च ३९१६ नम्बरको कार बरामद गरेको छ ।

अनुसन्धानबाट खुलेअनुसार, यो गिरोह समूह बनाई एकै ठाउँमा बस्ने र चोरी, पाकेटमार र लुटपाटका लागि मोटरसाइकल तथा कार प्रयोग गर्ने गरेको एसपी काजीकुमार आचार्यले बताए । उनीहरू सार्वजनिक सवारी साधनमा सँगै चढ्ने र पैसा बोकेका वा सुनका गरगहना लगाएका व्यक्तिहरूलाई ‘टार्गेट’ बनाई निगरानी गर्ने गर्थे । पैदलयात्री र दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्ने व्यक्तिको सिक्री लुट्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

लुटपाटपछि गाडीबाट ओर्लदा एकै पटक नओर्ली पालैपालो विभिन्न स्थानमा ओर्लने गर्थे । पाकेट मारेको तथा चोरी गरेका धनमाल समूहमै बाँड्ने गरेको पनि खुलेको छ ।

३८ पटक पक्राउ परेका ‘प्रोफेसर’ पनि गिरोहमा:
पक्राउ परेका कृष्णबहादुर खड्का यसअघि चोरी, लुटपाट लगायतका घटनामा ३८ पटक पक्राउ परी मुद्दा चलाइएका व्यक्ति हुन् । यसबाट उनी यो अपराधको दुनियाँका एक ‘प्रोफेसर’ नै भएको प्रष्ट हुन्छ ।