साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार, कारोबार रकम सवा ६ अर्ब नाघ्यो
काठमाडौँ, ८ साउन । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन शुक्रबार सामान्य अङ्कले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबारकै वृद्धिको लयलाई पछ्याउँदै आज नेप्से ७.९० अङ्कले बढेर २,७३४.६३ विन्दुमा पुगेको हो।
आज सेन्सेटिभ इण्डेक्स २.१६ अङ्क, फ्लोट इण्डेक्स ०.८२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अङ्कले बढेको छ। नेप्से परिसूचकसँगै आज सेयर कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ।
बिहीबार रु ४ अर्ब ६९ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३५३ कम्पनीको ७० हजार १५८ पटकको कारोबारमा रु ६ अर्ब २६ करोड ७२ लाख २६ हजार बराबरको १ करोड ३७ लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा पुनः सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य रु ८४.९० ले बढेर प्रतिकित्ता रु ६५१.१० मा अन्तिम कारोबार भएको छ। यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे १४ प्रतिशत र सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य करिब ७ प्रतिशतले बढेको छ। यता, १० प्रतिशत सानिमा बैंक लिमिटेड डिबेन्चरको मूल्य भने सर्वाधिक ८.९२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ३० करोड ९३ लाख बराबरको सेयर कारोबार भएको छ। यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २७ करोड र कुमारी बैंकको साढे २५ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशतले बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ। यता, म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सर्वाधिक २.०८ प्रतिशतले घटेको छ।