के किशोरावस्था ३२ वर्षसम्म रहन्छ ? वैज्ञानिकहरूले पत्ता लगाए मस्तिष्क विकासका ५ चरण
काठमाडौं । मानिसको किशोरावस्था (Adolescence) १९ वा २० वर्षमा सकिन्छ भन्ने परम्परागत मान्यतालाई चुनौती दिँदै एक नयाँ अध्ययनले यो अवस्था ३२ वर्षको उमेरसम्म रहन सक्ने देखाएको छ। वैज्ञानिकहरूले मानव मस्तिष्कको विकासका ५ मुख्य चरण र जीवनका ४ महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ (निर्णायक मोड) पत्ता लगाएका छन्।
मंगलबार ‘नेचर कम्युनिकेसन्स’ जर्नलमा प्रकाशित उक्त अध्ययनले ९० वर्षसम्मका झन्डै ४,००० मानिसको मस्तिष्क स्क्यान (एमआरआई) को विश्लेषण गरेको थियो।
अनुसन्धानकर्ताहरूका अनुसार मानिसको मस्तिष्क विकासक्रममा ९, ३२, ६६ र ८३ वर्षको उमेरमा सबैभन्दा महत्वपूर्ण परिवर्तनहरू आउँछन्। विशेष गरी, मानिसको व्यक्तित्व र बौद्धिकता ३२ वर्षको उमेर नपुगेसम्म पूर्ण रूपमा स्थिर (Stabilize) नहुने तथ्य अध्ययनले उजागर गरेको छ।
मस्तिष्क विकासका ५ चरणहरू
अध्ययनका अनुसार मस्तिष्कको विकास र बुढ्यौलीको प्रक्रिया निम्न ५ चरणमा विभाजन गरिएको छ:
१. बाल्यकाल (Childhood): जन्मदेखि ९ वर्षसम्म
२. किशोरावस्था (Adolescence): ९ देखि ३२ वर्षसम्म
३. वयस्क अवस्था (Adulthood): ३२ देखि ६६ वर्षसम्म
४. प्रारम्भिक बुढ्यौली (Early Ageing): ६६ देखि ८३ वर्षसम्म
५. उत्तरार्ध बुढ्यौली (Late Ageing): ८३ वर्षभन्दा माथि
चरणगत विश्लेषण र परिवर्तनहरू
१. बाल्यकाल (जन्मदेखि ९ वर्ष):
यो अवधिमा मस्तिष्कका ‘ग्रे म्याटर’ (Grey matter) र ‘ह्वाइट म्याटर’ (White matter) को घनत्व तीव्र गतिमा बढ्छ। ग्रे म्याटरले सूचना प्रशोधन गर्छ भने ह्वाइट म्याटरले सूचनालाई स्नायु प्रणालीका अन्य भागमा पुर्याउने काम गर्छ। यो उमेर समूहमा बालबालिकाहरूमा हर्मोनको परिवर्तन र यौवन अवस्था (Puberty) को सुरुवातसँगै ठूला न्युरोलोजिकल परिवर्तनहरू देखिन्छन्।
२. किशोरावस्था (९ देखि ३२ वर्ष):
विगतमा किशोरावस्था २० वर्षको हाराहारीमा सकिने मानिन्थ्यो। तर, यो अध्ययनले विशेष गरी पश्चिमी मुलुकहरू (जस्तै बेलायत र अमेरिका) मा मस्तिष्कको विकासक्रम हेर्दा किशोरावस्था ३२ वर्षसम्म लम्बिने देखाएको छ।
यो अवधिमा हर्मोन र न्युरोबायोलोजिकल परिवर्तनका कारण मानसिक स्वास्थ्य, संज्ञानात्मक र व्यवहारिक समस्याहरूको जोखिम उच्च हुन्छ। ३२ वर्षको उमेरमा पुगेपछि मात्र मस्तिष्कको सञ्जाल र संरचनाले नयाँ बाटो लिन्छ, जहाँ ह्वाइट म्याटरको विकास उच्च विन्दुमा पुग्छ।
३. वयस्क अवस्था (३२ देखि ६६ वर्ष):
यो जीवनको सबैभन्दा लामो चरण हो। सुरुवाती दुई चरणमा मस्तिष्कको विकास तीव्र गतिमा हुने भए पनि ३२ वर्षपछि यो प्रक्रिया सुस्त हुन्छ। यो चरणमा मानिसको बौद्धिकता र व्यक्तित्वमा स्थिरता आउँछ।
४. प्रारम्भिक बुढ्यौली (६६ देखि ८३ वर्ष):
यस चरणमा मस्तिष्कमा एक्कासि गिरावट नआए पनि ह्वाइट म्याटरको गुणस्तरमा कमी आउन थाल्छ। मस्तिष्कका विभिन्न भागहरूले एकमुष्ट रूपमा काम गर्नुको सट्टा छुट्टाछुट्टै काम गर्न थाल्छन्। ६० को दशकको सुरुवातमै धेरै मानिसमा डिमेन्सिया (बिर्सने रोग) र उच्च रक्तचापको जोखिम देखिन थाल्छ, जसले मस्तिष्कको बुढ्यौलीलाई बढावा दिन्छ।
५. उत्तरार्ध बुढ्यौली (८३ वर्षभन्दा माथि):
यस उमेर समूहको डाटा कम भए पनि उपलब्ध तथ्यांकले मस्तिष्कको ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल) मा स्पष्ट गिरावट देखाएको छ। यसले उमेर र मस्तिष्कको संरचनात्मक क्षमताबीचको सम्बन्ध कमजोर हुँदै गएको संकेत गर्छ।
यो अध्ययन किन महत्त्वपूर्ण छ?
यो रिपोर्टको सबैभन्दा महत्त्वपूर्ण निष्कर्ष किशोरावस्थाको अवधिबारे हो। विश्व स्वास्थ्य संगठन (WHO) ले किशोरावस्थालाई १० देखि १९ वर्षको उमेर समूहमा राखेको छ। तर, यो नयाँ अध्ययनले मस्तिष्कको परिपक्वता ३० को दशकको सुरुसम्म जारी रहने देखाएको छ।
क्याम्ब्रिज विश्वविद्यालयका न्युरोइन्फर्मेटिक्सका प्राध्यापक तथा अध्ययनका लेखक डंकन एस्टलका अनुसार यो रिपोर्टले मस्तिष्कका कमजोरीहरू बुझ्न मद्दत गर्छ। उनले भने, “हामी हाम्रो जीवनलाई विभिन्न चरणहरूमा महसुस गर्छौं, र अहिले आएर थाहा भयो कि हाम्रो मस्तिष्कले पनि यस्तै युगहरू पार गर्द रहेछ।”(एण्डा र न्यूज ऐजेनसी)