एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने, शक्तिशालीमध्ये एक हुने डब्लुएमओको चेतावनी
एजेन्सी, २२ असाेज । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको छ। संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का अनुसार यस पटकको एल निनो आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने सम्भावना छ।
डब्लुएमओले हालको एल निनो सन् १९५० यताकै शक्तिशालीमध्ये एक हुनसक्ने चेतावनी दिएको छ। सङ्गठनकी प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको’ बताउँदै यसको प्रभाव सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै शतप्रतिशत रहेको उल्लेख गर्नुभएको छ।
समुद्री सतहको तापक्रम ३.७ डिग्रीसम्म पुग्ने अनुमान
डब्लुएमओका अनुसार मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको समुद्री सतहको तापक्रम जुनमा औसतभन्दा १.६ डिग्री सेल्सियस बढी थियो। अगस्टमा यो असामान्यता बढेर २.५ डिग्री सेल्सियस पुगेको थियो।
अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा समुद्री सतहको तापक्रम औसतभन्दा करिब ३.७ डिग्री सेल्सियससम्म बढी हुनसक्ने अनुमान गरिएको छ। यो सन् २०१५–२०१६ मा कायम २.६ डिग्री सेल्सियसको अघिल्लो कीर्तिमानभन्दा समेत बढी हो।
साउलोका अनुसार एल निनोका कारण पृथ्वीमा नयाँ ताप थपिने होइन, समुद्रमा सञ्चित ताप बाहिर आउने हो। हाल समुद्र आफूहरूले मापन गरेयताकै सबैभन्दा तातो अवस्थामा रहेकाले वायुमण्डलमा बाहिर निस्कन थप ताप उपलब्ध रहेको उहाँले बताउनुभएको छ।
खडेरी र बाढीको जोखिम बढ्न सक्ने
एल निनोका कारण विश्वका धेरै भागमा औसतभन्दा बढी तापक्रम तथा वर्षाको ढाँचामा परिवर्तन आउन सक्छ। यसले विभिन्न क्षेत्रमा खडेरी तथा बाढीको जोखिम बढाउने डब्लुएमओले जनाएको छ।
यसको प्रभाव अर्थतन्त्र, पारिस्थितिक प्रणाली र समुदायमा समेत पर्न सक्ने चेतावनी दिइएको छ। मध्य अमेरिकालगायत केही क्षेत्रमा एल निनोको प्रभाव देखिन थालिसकेको र खडेरीका कारण जनावर तथा बालीमा क्षति भइरहेको जनाइएको छ।
सामान्यतया दुईदेखि सात वर्षमा दोहोरिन्छ
एल निनो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखिने मौसमीय घटना हो। यो करिब नौदेखि १२ महिनासम्म रहने गर्छ।
यसअघिको एल निनोले सन् २०२३ र २०२४ लाई अभिलेखमा रहेका सबैभन्दा तातामध्येका वर्ष बनाउन योगदान गरेको थियो। अहिले विकसित भइरहेको एल निनोले आगामी महिनाहरूमा विश्वका विभिन्न क्षेत्रमा तापक्रम र वर्षाको ढाँचामा थप प्रभाव पार्न सक्ने डब्लुएमओको आकलन छ।
