वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क वृद्धि: एशोसियसनले जनायाे आपत्ति
काठमाडौँ, १२ मङ्सिर । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको भारी वृद्धिप्रति गम्भीर आपत्ति जनाएको छ।
मङ्सिर १० गतेदेखि लागू हुनेगरी गरिएको यो शुल्क वृद्धिले गरिब र विपन्न कामदारमाथि आर्थिक भार थपेको एशोसियसनको भनाइ छ।
सरकारले युएईका लागि स्वास्थ्य परीक्षण शुल्क रु ४,५०० बाट बढाएर रु ९,५०० पुर्याएको छ, जुन झन्डै दोब्बर हो। त्यस्तै, अन्य मुलुकका लागि रु ६,५०० बाट बढाएर रु ९,५०० पुर्याइएको छ। एशोसियसनका अध्यक्ष दीपक थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, खाडी तथा मलेसिया जाने कामदारका लागि रु १०,००० सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै रु ९,५०० पुर्याउनु आपत्तिजनक छ।
एशोसियसनले वैदेशिक रोजगारीका लागि विशेषगरी मलेसिया र खाडी मुलुक जाने नेपालीहरू अतिविपन्न अवस्थाका हुने गरेको र दैनिक १,५०० युवा रोजगारका लागि जाने गरेको जनाएको छ। यो निर्णयले विपन्न श्रमिकमाथि थप आर्थिक भार पर्नेछ।
गन्तव्य मुलुकहरूले नेपालमा गरिने स्वास्थ्य परीक्षणको विश्वास नगर्ने र आफ्नो मुलुकको मापदण्डअनुसार पुनः परीक्षण गराउने गरेको अवस्थामा नेपालमा परीक्षण शुल्क बढाउनु उचित नभएको एशोसियसनको तर्क छ। नेपालमा हुने स्वास्थ्य परीक्षण केवल श्रम स्वीकृतिको कानुनी प्रक्रिया पूरा गर्ने औपचारिकता मात्रै भएको भन्दै एशोसियसनले यो शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।