भारतमा निपाह भाइरस देखिएपछि पश्चिमी नाकामा उच्च सतर्कता, स्वास्थ्य डेस्क सक्रिय

कञ्चनपुर, २० माघ । छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा यसको जोखिम न्यूनीकरणका लागि पश्चिमी सीमा नाकाहरूमा निगरानी बढाइएको छ । सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका पाँचवटा मुख्य नाकामा नेपाल भित्रिने यात्रुहरूको स्वास्थ्य परीक्षण र निगरानीलाई तीव्र पारिएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट तथा कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कलाई ‘हाई अलर्ट’ मा राखिएको छ । “नाकाका स्वास्थ्यकर्मीहरूलाई निपाह भाइरसबारे अभिमुखीकरण गराउनुका साथै कोभिड–१९ को समयमा बनाइएका आइसोलेसन वार्डहरूलाई पनि तयारी अवस्थामा राखेका छौँ,” जोशीले भन्नुभयो ।

भारतको पश्चिम बङ्गालमा सङ्क्रमण देखिएकाले पूर्वी नाकाहरू बढी जोखिममा भए पनि सुदूरपश्चिमका नाकाहरूमा पूर्वतयारी स्वरूप निगरानी बढाइएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दिपेन्द्रसिंह रावलले नाकाबाट भित्रिने क्रममा ज्वरो आएका वा शङ्कास्पद लक्षण देखिएका व्यक्तिहरूको स्वाब सङ्कलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइने जानकारी दिनुभयो ।

सङ्क्रमितको उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक व्यवस्था मिलाइएको छ । निपाह भाइरस चमेरो, सुँगुर र सङ्क्रमित व्यक्तिबाट सर्ने भएकाले जनसाधारणलाई सचेत रहन र स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।