संसद्मा भूमिका प्रभावकारी बनाउन एमाले सांसदहरूसँग अन्तरक्रिया
काठमाडौँ, ३ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संसद्मा आफ्नो दलको भूमिकालाई थप प्रभावकारी बनाउन आज दुवै सदनका सांसदहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै छ।
एमाले संसदीय विभागको आयोजनामा बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा निर्देशनात्मक प्रशिक्षण दिनुहुने संसदीय विभाग प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालले जानकारी दिनुभयो।
कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले सचिवालयको कार्यसञ्चालन, संसदीय समितिहरूको क्षेत्राधिकार र समितिमा उठाउनुपर्ने विषयहरूका बारेमा सांसदहरूलाई सहजीकरण गर्नुहुनेछ। यसैगरी, पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिनुहुने सचिव अर्यालले बताउनुभयो। सांसदहरूले पार्टीको नीतिअनुरूप संसद्मा भूमिका निर्वाह गर्दा दलका विभिन्न विभागहरूसँग कसरी समन्वय र परामर्श गर्ने भन्ने विषयमा पनि महासचिव पोखरेलले स्पष्ट पार्नुहुनेछ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा सहभागी हुन सबै विभागका प्रमुख तथा सदस्यहरूलाई समेत आमन्त्रण गरिएको छ। सम्बन्धित विभागहरूले विषयविज्ञहरूको सूची तयार गरी सांसदहरूलाई आवश्यक परेका बेला नीतिगत तथा विषयगत परामर्श दिने गरी एउटा ‘रोस्टर’ तयार पार्ने योजना रहेको छ।
कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका एमाले सांसदहरूको सहभागिता रहने जनाइएको छ।