प्रतिनिधिसभा निर्वाचन: देशभर १ करोड ८९ लाख बढी मतदाता, पुरुषको सङ्ख्या धेरै (तथ्याङ्कसहित)
काठमाडौँ, २० माघ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगको पछिल्लो तथ्याङ्कअनुसार देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम भएका छन्।
आयोगका अनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या महिलाको तुलनामा बढी देखिएको छ। देशभर ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता रहेका छन् भने महिला मतदाताको सङ्ख्या ९२ लाख ४० हजार १३१ रहेको छ। यस्तै, अन्य विधामा २०० जना मतदाता दर्ता भएका छन्।
१० हजार ९६७ मतदान स्थल, २३ हजार बढी केन्द्र
निर्वाचनलाई व्यवस्थित र सहज बनाउन आयोगले देशभर मतदान स्थल र केन्द्रहरूको समेत टुङ्गो लगाएको छ। आयोगका अनुसार देशभर कुल १० हजार ९६७ मतदान स्थलहरू तोकिएका छन्।
ती मतदान स्थलहरूमा जम्मा २३ हजार ११२ वटा मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ। मतदाताको चाप र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै केन्द्रहरू निर्धारण गरिएको हो।
तथ्याङ्कअनुसार मतदाताको संक्षिप्त झलक
कुल मतदाता: १,८९,०३,६८९
पुरुष: ९६,६३,३५८
महिला: ९२,४०,१३१
अन्य: २००
मतदान स्थल: १०,९६७
मतदान केन्द्र: २३,११२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले आफ्नो तयारीलाई तीव्र पारेको छ। मतदाता नामावलीको अन्तिम प्रकाशनसँगै अब निर्वाचन सामग्री व्यवस्थापन र कर्मचारी परिचालनको काम अघि बढ्ने आयोगले जनाएको छ। HoR_Const_Wise_Voters final