झापा–५ मा एमाले अध्यक्ष ओलीले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

झापा, ५ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो निर्वाचन क्षेत्र झापा–५ को चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दैहुनुहुन्छ । चुनावी प्रचारप्रसारका क्रममा गृहजिल्ला झापामा रहनुभएका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक–९ स्थित अमरसिंह चोकमा आयोजना हुने एक कार्यक्रमबीच प्रतिबद्धता पत्र सार्वजनिक गर्न लाग्नुभएको हो ।

ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक एवं पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार, प्रतिबद्धता पत्रमा अध्यक्ष ओलीले निर्वाचित भएपछि यस क्षेत्रमा गर्ने विकास निर्माणका कामहरूको विस्तृत खाका समेटिएको छ ।

संयोजक दाहालका अनुसार सार्वजनिक हुन लागेको प्रतिबद्धता पत्रमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना र इतिहासको चर्चा गरिएको छ । साथै, एमालेको नेतृत्वमा बनेका सरकारले गरेका ऐतिहासिक कामहरूको पृष्ठभूमि र सरकारले थालनी गरेका तर विविध कारणले पूरा हुन नसकेका राष्ट्रिय गौरव तथा स्थानीय महत्त्वका योजनाहरूको विस्तृत विवरण र तिनलाई पूर्णता दिने खाका पनि पत्रमा उल्लेख गरिएको छ ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रमका अलावा अध्यक्ष ओलीको आज दिनभर व्यस्त चुनावी कार्यतालिका रहेको छ । आजै दमक–३ स्थित दुम्से र टुकुरेमा प्रचारप्रसार तथा भेटघाटको कार्यक्रम तय गरिएको छ ।

यस्तै, दमक–८ स्थित संगम चोक, कृष्ण मन्दिर र धनपती मैनालीको घर हुँदै दमक–१० स्थित सूर्य चोकमा पनि घरदैलो तथा चुनावी प्रचारप्रसारको कार्यक्रम रहेको एमाले झापा क्षेत्र नं. ५ ले जनाएको छ ।