कञ्चनपुरमा नाबालिका बलात्कार गरेकाे आरोपमा दुई जना पक्राउ
महेन्द्रनगर, २८ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक नाबालिकालाई जङ्गलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र वडा नम्बर १० का ४७ वर्षीय नरेश नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बालिकामाथि बलात्कार भएको उजुरी प्राप्त हुनासाथ आरोपितहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
“जङ्गलभित्र लगेर बालिकामाथि जबरजस्ती करणी भएको सूचना प्राप्त भएपछि तत्काल खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो,” प्रहरी निरीक्षक थापाले भने, “यस घटनाका सम्बन्धमा अहिले प्रहरीले गम्भीरताका साथ विस्तृत अनुसन्धान गरिरहेको छ ।”
पक्राउ परेका दुवै जनामाथि कानुनबमोजिम म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।