बुद्ध जयन्तीकै दिन बल्खुस्थित गुम्बामा डोजर चलेपछि स्थानीय आक्राेशित
काठमाडौँ, १८ वैशाख । बालेन सरकारकाे सार्वजनिक जग्गा र नदी किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत शुक्रबार बिहान काठमाडौँको बल्खु–टेकु आसपासको क्षेत्रमा डोजर चलाइएको छ। सोही क्रममा बल्खुस्थित साङ्गे छोइलिङ गुम्बामा समेत डोजर चलेपछि स्थानीय आक्राेशित बनेका छन् ।
पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीकै दिन बस्तीबीच अवस्थित उक्त गुम्बा भत्काइएको भन्दै स्थानीय र गुम्बा व्यवस्थापन समितिले कडा आपत्ति जनाएका छन्। गुम्बा व्यवस्थापन पक्षले कम्तीमा बुद्ध जयन्तीको दिन संरचना नभत्काउन आग्रह गर्दासमेत सरकारले बेवास्ता गरेको दाबी गरेको छ।
गुम्बा व्यवस्थापन समितिका अध्यक्ष कपुरे तामाङले भत्काउने क्रममा बुद्धको मूर्तिसमेत क्षतिग्रस्त भएको भन्दै दुःख व्यक्त गरे। उनका अनुसार उक्त गुम्बा २०७८ साल कात्तिक १३ गते औपचारिक रूपमा दर्ता गरी सञ्चालनमा ल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही दिनअघि सूचना जारी गर्दै नदी किनार र अतिक्रमण गरिएका जग्गामा रहेका संरचना निर्धारित समयभित्र खाली गर्न निर्देशन दिएको थियो। उक्त सूचनापछि कतिपय स्थानीयले आफैँ संरचना हटाउन थालेका थिए भने अटेर गर्नेहरूको संरचना सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर लगाएर भत्काइएको हो।