लगातार चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने साढे ३ अर्बमा झर्‍यो

काठमाडौँ, २२ वैशाख । साताको दोस्रो कारोबार दिन मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ। पछिल्ला चार कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज ८.७८ अङ्कले बढेर २७१२.८६ विन्दुमा पुगेको छ।

परिसूचक बढे पनि आज कारोबार रकममा भने सङ्कुचन आएको छ। अघिल्लो कारोबार दिन (सोमबार) ४ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा आज ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ। आज ३३५ कम्पनीका ७७ लाख ३४ हजार कित्ता सेयर कुल ६२ हजार २५ पटक किनबेच भएका थिए।

यस दिन ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२६ अङ्क, फ्लोट इन्डेक्स ०.६० अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४७ अङ्कले सकारात्मक रहेका छन्।

कारोबारमा आएका १३ उपसमूहमध्ये आज ७ वटाको सूचक बढेको छ भने ६ वटाको सूचक घटेको छ। आज जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ। अन्य वृद्धि भएका उपसमूहहरूमा सामान्य अङ्कको मात्र सुधार देखिएको छ। यता, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक भने सामान्य दरले ओरालो लागेका छन्।

आज अपर लोहारे खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ११.१६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, सोलु हाइड्रोपावरको मूल्य साढे ७ प्रतिशतभन्दा बढीले र धौलागिरी लघुवित्तको मूल्य ७ प्रतिशतले बढेको छ।

यता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज सर्वाधिक ९.३१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको सर्वाधिक २३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।