महेन्द्र भवन मावि अब ‘महेन्द्र भवन महानगर विद्यालय’ : शैक्षिक प्रतिष्ठा पुन:स्थापित गर्न महानगर र गुठीबिच सम्झौता
काठमाडौँ, साउन ६ । काठमाडौँको सानो गौचरनस्थित ऐतिहासिक ‘महेन्द्र भवन माध्यमिक विद्यालय’ को सामाजिक प्रतिष्ठा पुनस्र्थापित गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरको नमुना विद्यालय बनाउन काठमाडौँ महानगरपालिका र महेन्द्र भवन शैक्षिक गुठीबिच औपचारिक सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीको रोहवरमा सो सम्झौता भएको हो ।
सम्झौता पत्रमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राईले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि अब यस विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ रहनेछ । विद्यालयको स्वामित्व र भौतिक सम्पत्ति गुठीमै रहने भए तापनि यसको सञ्चालन र व्यवस्थापनमा महानगरपालिकाले प्रत्यक्ष भूमिका निर्वाह गर्ने गरी ‘संयुक्त व्यवस्थापन’ को मोडल तय गरिएको छ ।
वि.सं. २०१४ सालमा युनाइटेड मिसन नेपालको सहयोगमा स्थापित यस विद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थापन पछिल्लो समय खस्कँदै गएपछि महानगरले यसको जिम्मा लिएको हो । कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले विद्यालयको भौतिक पूर्वाधार मात्र नभई यसको गुमेको सामाजिक शाख र प्रतिष्ठा फर्काउन समयसापेक्ष प्रविधि र उत्कृष्ट शैक्षिक गुरुयोजनाका साथ अघि बढ्ने बताउनुभयो ।
महेन्द्र भवन शैक्षिक गुठीका अध्यक्ष प्रा. डा. प्रमिला राईले विद्यार्थी संख्यामा कमी र आर्थिक अभावका कारण विद्यालय जोगाउन चुनौती भइरहेका बेला महानगरको साथले नयाँ आशा जगाएको बताउनुभयो । उहाँले महानगरको प्रवेशसँगै विद्यालयको जमिन र संरचना संरक्षण हुनेमा ढुक्क रहेको उल्लेख गर्नुभयो ।
नयाँ व्यवस्थापन र योजनाहरू:
सम्झौता अनुसार विद्यालयको नीतिगत निर्णय र मार्गदर्शनका लागि महानगरका उपप्रमुखको संयोजकत्वमा ‘विद्यालय निर्देशक समिति’ गठन गरिनेछ । जसमा गुठीका अध्यक्ष सहसंयोजक रहने व्यवस्था छ । त्यस्तै, हाल रहेका ९ जना गुठियारहरूमा महानगरले ८ जना प्रतिनिधि थप गरी गुठीलाई १७ सदस्यीय बनाइनेछ ।
विद्यालयको भौतिक संरचना मर्मत, नवनिर्माण र आधुनिक प्रविधि जडानका लागि आवश्यक वित्तीय स्रोतको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्नेछ । विद्यालय परिसरमा नियमित शैक्षिक कार्यक्रमका अतिरिक्त विशेष विद्यालय, स्पोर्ट्स एकेडेमी र बाल विकास कार्यक्रमहरू समेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
यो सहकार्यले सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा नयाँ मानक स्थापित गर्ने र विद्यालयलाई उच्च शिक्षाको केन्द्रका रूपमा समेत विकास गरिने महानगरको योजना रहेको छ ।