अमेरिका–इरान द्वन्द्वले मध्यपूर्वमा तनाव उच्च, इन्धनको मूल्य प्रतिब्यारेल ९५ डलर नाघ्यो
एजेन्सी, ७ साउन । अमेरिका र इरानबीच जारी सैन्य द्वन्द्वका कारण मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। पछिल्लो समय अमेरिकी हवाई आक्रमणको विस्तार, इरानको जवाफी चेतावनी, हुथी विद्रोहीको बढ्दो गतिविधि र इन्धनको मूल्यमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रको सुरक्षा तथा समग्र अर्थतन्त्र थप चुनौतीपूर्ण बनेको छ।
अमेरिकी सेनाले लगातार १२औँ रात इरानी सैन्य संरचनाहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानको दक्षिणपश्चिम क्षेत्रका रामसिर र अहवाज सहर तथा खाडी तटीय बुसेहर प्रान्तका विभिन्न क्षेत्रहरू अमेरिकी क्षेप्यास्त्र आक्रमणको निसानामा परेका छन्।
यसैबीच, अमेरिकी ऊर्जा मन्त्रालयले साउदी अरेबियासँग नागरिक आणविक सहयोगसम्बन्धी ऐतिहासिक सम्झौता भएको घोषणा गरेको छ। यो सम्झौताले साउदी अरेबियामा नागरिक आणविक कार्यक्रम विकासका लागि कानुनी आधार तयार गर्ने दाबी गरिएको छ। अर्कोतर्फ, कुवेतको सेनाले बिहीबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुपक्षका ड्रोनहरूलाई आकाशमै नष्ट गरेको र सो क्रममा ठूला विस्फोटका आवाज सुनिएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटीमा कुनै पनि जहाजमाथि आक्रमण भए त्यसको बदलामा इरानका पुल वा विद्युत् केन्द्र ध्वस्त पारिने चेतावनी दोहोर्याउनुभएको छ। उहाँले हालसम्म यस युद्धमा अमेरिकाले ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च गरिसकेको जानकारी दिनुभयो।
यसको कडा प्रतिवाद गर्दै इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानी पूर्वाधारमाथि आक्रमण गरे त्यसको शक्तिशाली र निर्णायक जवाफ दिइने बताउनुभएको छ। इरानको रक्षा नीति ‘जस्तो आक्रमण, त्यस्तै प्रतिकार’ मा आधारित रहेको उहाँले स्पष्ट पार्नुभयो।
यसैबीच, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा साउदी कम्पनीको एउटा तेल ट्याङ्करमाथि आक्रमण गरेको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय चेम्बर अफ शिपिङ (आइसीएस) का अनुसार हुथी विद्रोहीहरूले लाल सागर क्षेत्रमा सञ्चालनमा रहेका जहाजहरूलाई चेतावनीपूर्ण रेडियो सन्देशहरू पठाउन थालेका छन्। पाँच महिनादेखि जारी यस युद्धले होर्मुज जलघाँटीमा व्यावसायिक जहाजहरूको आवतजावतलाई प्रभावित बनाएको छ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वको प्रत्यक्ष असर विश्व ऊर्जा बजारमा देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब छ हप्तापछि पहिलोपटक ९५ अमेरिकी डलरको विन्दु नाघेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) को मूल्यमा पनि करिब तीन प्रतिशतको वृद्धि भएको छ।