बाढी र पहिरोका कारण सात जिल्लाका प्रमुख सडक अवरुद्ध, बिपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ, ७ साउन । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहानसम्म सातवटा जिल्लाका प्रमुख सडकहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

सम्भावित जोखिम न्यूनीकरणका लागि काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा अर्को सूचना नभएसम्म हरेक बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म रात्रिकालीन सवारी आवतजावत बन्द गरिएको छ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीस्थित सडकखण्ड हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं २ कोदारीस्थित सडकखण्ड पहिरोका कारण बन्द छ।

कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित सडकखण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ।
लामाबगर–रामेछाप सडक अन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि आवतजावत ठप्प भएको छ। नाग्म–गमगडी सडक अन्तर्गत मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलास्थित सडकखण्ड पहिरो खसेका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *