म्याग्दीको गुर्जा सडक सञ्जालमा जाेडियाे : १२ घण्टाको यात्रा ५ घण्टामा सीमित, फेरियो जनजीवन
म्याग्दी, २४ वैशाख । वर्षौँदेखि सडक सुविधाबाट टाढा रहेको म्याग्दीको सबैभन्दा विकट बस्ती धौलागिरि गाउँपालिका–१ गुर्जा अन्ततः सडक सञ्जालमा जोडिएको छ। सडक पुगेसँगै गुर्जावासीको वर्षौँदेखिको पैदल यात्राको सास्ती अन्त्य भएको छ भने स्थानीयको दैनिकीमा समेत ठूलो परिवर्तन आएको छ।
प्रशासनिक कामका लागि सदरमुकाम बेनी आउनुभएकी गुर्जाकी डेकमाया छन्त्याल यसै हप्ता पाँच घण्टामै घर पुग्दा छक्क पर्नुभयो। “यसअघि बेनी पुग्न ९ घण्टा पैदल हिँडेर मुना पुग्नुपथ्र्यो, अनि त्यहाँबाट गाडी चढ्नुपथ्र्यो,” उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो, “अहिले त बेनीबाट बिहान ५ बजे हिँडेको १० बजे त घरमै पुगेर खाना खाइयो।”
यसअघि भिर, जङ्गल र खोल्साको उकालो-ओरालो गर्दै गुर्जादेखि मुना पुग्न मात्रै ९ घण्टा लाग्ने गर्थ्यो। सडक पुगेपछि अब उक्त दूरी निकै छोटिएको छ।
अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको २६५ घरपरिवार बसोबास गर्ने गुर्जामा सडक पुगेपछि बिरामीलाई अस्पताल पुर्याउन र खाद्यान्न ढुवानी गर्न निकै सहज भएको छ। वडासदस्य गुनराम छन्त्यालका अनुसार विगतमा बिरामी हुँदा महँगो खर्चमा हेलिकप्टर बोलाउनुपर्ने वा बोकेरै लुलाङ पुर्याउनुपर्ने बाध्यता थियो। “गाडी चल्न थालेपछि अब बिरामीले समयमै उपचार पाउने भए, खाद्यान्न र निर्माण सामग्रीको मूल्य पनि सस्तिएको छ,” उहाँले भन्नुभयो।
‘लुकेको बस्ती’ को रूपमा परिचित गुर्जामा सडक पुगेसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। छन्त्याल संस्कृति, हिमाल, जडीबुटी र वन्यजन्तुको अवलोकनका लागि पोखरा र काठमाडौँदेखि समेत मानिसहरू गुर्जा पुग्न थालेका छन्। ८८ वर्षीया चनमती छन्त्यालले गाउँमा गाडी आएपछि अब आफन्तहरू पनि सजिलै घुम्न आउन थालेको सुनाउनुभयो। गाडी पुगेपछि स्थानीय कृषि उपज र जडीबुटीको बजारीकरणमा समेत नयाँ आशा पलाएको छ।
गुर्जा सडक सञ्जालमा जोडिएसँगै म्याग्दी जिल्लाले अर्को एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार गुर्जा सडकमा जोडिएसँगै म्याग्दीका ६ वटा स्थानीय तहका सबै ४५ वटै वडामा अब यातायातको पहुँच पुगेको छ। लुलाङ–गुर्जा सडक आयोजना (२२ किमि) मार्फत यो मार्ग खोलिएको हो।
सडकको ट्रयाक खुले पनि यात्रा अझै पूर्ण रूपमा सुरक्षित र सहज भने भइसकेको छैन। यातायात व्यवसायी लुकेश रसाइलीका अनुसार ३ हजार मिटर उचाइमा रहेको देउराली र लत्रवाङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण छ। बर्खामा हिलो र हिउँदमा चिप्लो हुने भएकाले सो खण्डको स्तरोन्नति गर्नुपर्ने माग व्यवसायीको छ।
त्यस्तै, गुर्जा नजिकैको कम्जाखोलामा मोटरेबल पुल नहुँदा अहिले सवारी साधन खोलाबाटै तर्नुपर्ने बाध्यता छ। गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले प्रदेश सरकारबाट प्राप्त बजेट र पालिकाको समन्वयमा सडक सुधार तथा स्तरोन्नतिका काम अघि बढाइने जानकारी दिनुभयो।
गुर्जाका वडाध्यक्ष झक छन्त्यालले एउटा दूरगामी योजना अघि सार्नुभएको छ। गुर्जा हुँदै कर्णाली प्रदेशको डोल्पा जोड्ने ‘उच्च पहाडी राजमार्ग’ बनाउन सकेमा डोल्पा, मुगु र जुम्लाका बासिन्दाका लागि काठमाडौँ पुग्ने सबैभन्दा छोटो बाटो खुल्ने उहाँको दाबी छ।
“यो मार्ग बनेमा डोल्पाबाट ५०० किलोमिटरमै काठमाडौँ पुग्न सकिन्छ,” वडाध्यक्ष छन्त्यालले भन्नुभयो। यसका लागि सङ्घीय र प्रदेश सरकारसँग आवश्यक प्रस्ताव र पहल सुरु भइसकेको वडा कार्यालयले जनाएको छ।