अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका बेदकोट र भीमदत्त नगरपालिकामा विद्यालय बन्द
कञ्चनपुर, ८ असार । तराईमा अत्यधिक गर्मी र तातो हावा (लू) बढेपछि कञ्चनपुरका स्थानीय तहहरूले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आकस्मिक बिदा दिन थालेका छन्। प्रतिकूल मौसमका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै जिल्लाका बेदकोट र भीमदत्त नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
बेदकोट नगरपालिकाले मङ्गलबार (भोलि) देखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टका अनुसार अत्यधिक गर्मीका कारण पठनपाठन सञ्चालन गर्न कठिनाइ भएकाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि यो बिदा दिइएको हो।
यसैगरी, भीमदत्त नगरपालिकाले पनि गर्मी बढेपछि सातै दिनभन्दा बढी समय विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार असार ८ गते सोमबारदेखि असार १९ गतेसम्म गर्मी र वर्षे बिदालाई एकमुष्ट मिलाएर १२ दिनसम्मका लागि विद्यालयहरूमा बिदा दिने निर्णय कार्यान्वयनमा ल्याइएको छ।
कञ्चनपुरलगायत समग्र पश्चिम तराईमा पछिल्लो एक सातादेखि तापक्रम निरन्तर बढ्दा जनजीवन कष्टकर बनेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लाहरूमा आगामी तीन दिनसम्म तातो लहर (हिट वेभ) चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई आवश्यक पूर्वसतर्कता अपनाउन र विनाकाम दिउँसो घरबाहिर ननिस्कन आग्रह गरेको छ।