सरकारी अस्पतालमा लापरबाहीको पराकाष्ठा: ९ करोडभन्दा बढीको औषधि म्याद नाघेर खेर

काठमाडौँ, १ जेठ । सरकारी अस्पताल र विभिन्न स्वास्थ्य निकायहरूको चरम लापरबाहीका कारण ९ करोड १७ लाख रुपैयाँभन्दा बढीको औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर खेर गएको छ। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य सेवा विभागदेखि देशका ठूला सरकारी अस्पतालहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर त्रुटि औँल्याएको हो।

प्रतिवेदनअनुसार ९ करोड १७ लाख मूल्य बराबरका विभिन्न औषधि, कीट र स्वास्थ्य सामग्रीहरू म्याद समाप्त भई प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका हुन्। यसरी औषधि खेर फाल्नेमा स्वास्थ्य सेवा विभाग, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता प्रमुख निकायहरू अग्रपङ्क्तिमा देखिएका छन्।

महालेखाको तथ्याङ्कअनुसार सबैभन्दा बढी क्षति स्वास्थ्य सेवा विभागमा भएको छ, जहाँ विगतमा खरिद गरिएका २८ प्रकारका ४ करोड ७२ लाख २० हजार रुपैयाँ बराबरका औषधि म्याद नाघेर थन्किएका छन्।

यस्तै, वीर अस्पतालमा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार रुपैयाँ बराबरका औषधि प्रयोगविहीन भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ करोड १९ लाख ९६ हजार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ करोड २३ हजार र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार मूल्य बराबरका स्वास्थ्य सामग्रीको म्याद सकिएको छ।

खरिद सम्झौताअनुसार म्याद समाप्त हुन लागेका वा बिक्री नभएका औषधिहरू आपूर्तिकर्ताले नै प्रतिस्थापन (साटफेर) गरिदिनुपर्ने प्रावधान हुन्छ। तर, सम्बन्धित स्वास्थ्य निकायका पदाधिकारीहरूले समयमै ध्यान नदिँदा र आपूर्तिकर्तालाई जिम्मेवार नबनाउँदा राज्यको ठूलो लगानी बालुवामा पानी भएको महालेखाले जनाएको छ।

“स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको औषधिको म्याद समाप्त भएमा वा अधिक मौज्दात रहेमा सर्तअनुसार प्रतिस्थापन गर्नुपर्ने भए पनि त्यसो गरेको पाइएन,” प्रतिवेदनमा भनिएको छ। म्याद नाघेका यस्ता औषधि र कीटहरू अहिले अस्पतालका स्टोरहरूमा काम नलाग्ने फोहोरका रूपमा थुप्रिएका छन्, जसले स्वास्थ्य क्षेत्रको फितलो व्यवस्थापनलाई उजागर गरेको छ।