प्रधानमन्त्रीको ‘सीमा मिचिएको’ विवादित अभिव्यक्तिप्रति कांग्रेस र नेकपाको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौँ, १७ जेठ । नेपालले पनि भारतको भूमि मिचेको भनी प्रधानमन्त्रीले बालेन्द्र साहले संसद्मा दिनुभएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपाका सांसदले कडा आपत्ति जनाएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले ‘भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको आफूले थाहा पाएको’ जस्ता वक्तव्य दिएपछि संसद्मा विवाद उत्पन्न भएको हो।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले देशको सीमा र सार्वभौमिकता जस्तो संवेदनशील विषयमा बिनाप्रमाण प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले गैरजिम्मेवारपूर्ण कुरा बोल्न नहुने बताउनुभयो। उहाँले यस विषयमा सरकारले तत्काल संसद्मा स्पष्ट पार्नुपर्ने अन्यथा प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभयो।
यसैगरी, नेकपाका सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको भनाइप्रति कडा असहमति जनाउँदै राष्ट्रिय हित विपरीतको यस्तो टिप्पणी अस्वीकार्य हुने बताउनुभयो। “प्रधानमन्त्रीको यो भनाइ अत्यन्तै आपत्तिजनक र अमर्यादित छ। यसलाई तत्काल संसद्को अभिलेख (रेकर्ड) बाट मेटियोस्,” सांसद मल्लले संसद्मा माग गर्नुभयो।