सरकारी अस्पतालमै पहिलोपटक ‘रोबोटिक’ शल्यक्रिया सेवा: भक्तपुर अस्पतालमा सुरु हुँदै

भक्तपुर, २८ जेठ । नेपालको सरकारी अस्पतालहरूमध्ये पहिलोपटक भक्तपुर अस्पतालले अत्याधुनिक ‘रोबोटिक’ शल्यक्रिया (रोबोटिक सर्जरी) सेवा सञ्चालनमा ल्याउने भएको छ। जटिल प्रकृतिका शल्यक्रियाहरूलाई अत्याधुनिक प्रविधिमार्फत थप सुरक्षित, सटिक र प्रभावकारी बनाउन बागमती प्रदेश सरकारको सहयोगमा यो सेवा सुरु गर्न लागिएको हो।

निजी क्षेत्रका केही अस्पतालहरूमा यसअघि नै रोबोटिक प्रविधि भित्रिए पनि सरकारी क्षेत्रमा भने पहिलोपटक भक्तपुर अस्पतालमा यो सेवा सुरु हुन लागेको हो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ र स्वास्थ्यमन्त्री किरण थापा मगरको पहलमा सरकारी अस्पतालमा उच्च प्रविधि भित्र्याएर सर्वसाधारणलाई सुलभ उपचार सेवा दिने नीतिअन्तर्गत यो प्रक्रिया अघि बढाइएको हो।

स्वास्थ्यमन्त्री थापा मगरका अनुसार यस प्रविधिका लागि आवश्यक उपकरण खरिद गर्न बोलपत्र (टेन्डर) आह्वान भइसकेको छ। “नेपालकै सरकारी अस्पतालमा पहिलोपटक रोबोटिक सर्जरी सञ्चालन गर्ने जमर्को गरिएको छ, जसबाट विपन्न बिरामीले समेत सहज र सुलभ रूपमा अत्याधुनिक उपचार पाउन सक्नेछन्,” उहाँले भन्नुभयो।

के हो रोबोटिक शल्यक्रिया र यसका फाइदा ?
यो प्रविधिमा शल्यचिकित्सक (सर्जन) ले ठूलो स्क्रिन हेर्दै रोबोटका मेकानिकल हातहरूलाई नियन्त्रण गरी सटिक तरिकाले शल्यक्रिया गर्दछन्। भक्तपुर अस्पतालका रोबोटिक विशेषज्ञ एवं कन्सल्टेन्ट सर्जन डा. रन्जिसकुमार पहाडी क्षेत्रीका अनुसार चिकित्सकले उपकरण चलाउँदा रोबोटका हात बिरामीको शरीरभित्र निकै मसिनो र सुरक्षित तरिकाले चल्ने भएकाले यसबाट जटिल शल्यक्रिया गर्न सहज हुन्छ।

यस प्रविधिमार्फत विशेषगरी पेटको मांसपेशी सिलाउनुपर्ने जटिल हर्निया, पेट र आन्द्राको ट्युमर, पत्थरी, पाठेघरको ट्युमर, मिर्गौला तथा प्रोस्टेटसम्बन्धी समस्या, कार्डियाक ब्यारियाट्रिक र बाल चिकित्सा शल्यक्रिया गरिने लक्ष्य छ। न्यूनतम चिरफार गरी स-साना प्वाल पारेर शल्यक्रिया गरिने भएकाले बिरामीलाई दुखाइ कम हुने, रक्तश्राव न्यून हुने, घाउ चाँडै निको हुने र अस्पताल बसाइको समय घट्ने लाभ मिल्नेछ।

तालिम र अनुसन्धान केन्द्रका रूपमा विकास गरिने
भक्तपुर अस्पताललाई यस शल्यक्रियाको अभ्याससँगै आगामी दिनमा अध्ययन तथा तालिम केन्द्र (सेन्टर अफ एक्सीलेन्स) का रूपमा विकास गर्ने योजना बनाइएको छ। अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवनचन्द्र झाले यस प्रविधिबाट विपन्न नागरिकले समेत संसारकै आधुनिक स्वास्थ्य सेवा सुपथ मूल्यमा पाउने विश्वास व्यक्त गर्नुभयो।

नयाँ प्रविधिलाई व्यवस्थित र सुरक्षित बनाउन अस्पतालले ‘रोबोटिक रजिस्ट्री’ खडा गरी बिरामीहरूको विवरण चुस्त राख्नेछ। साथै, यस प्रविधिलाई नेपाली बिरामीहरूका लागि थप प्रभावकारी बनाउन अस्पतालका सर्जनहरूले नियमित रूपमा अनुसन्धान गर्ने तयारीसमेत गरिएको छ।