बाँदर आतङ्क नियन्त्रणका लागि पौवादुङमा गाउँपालिकाले बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने
काठमाडौँ, असार १० । भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानको बालीनालीमा क्षति पुर्याउँदै आएका बाँदरको सङ्ख्या नियन्त्रण गर्न बन्ध्याकरण गर्ने योजना अघि सारेको छ । सङ्घीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकै परिप्रेक्ष्यमा गाउँपालिकाले सङ्घीय निकायसँगको समन्वयमा यो कार्यक्रम कार्यान्वयन गर्न लागेको हो ।
मङ्गलबारदेखि सुरु भएको गाउँपालिकाको १९औँ अधिवेशनमार्फत आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण प्रक्रियालाई समावेश गरिएको छ ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार, बाँदरको समस्या किसानका लागि जटिल चुनौती बनेकाले यसको वैज्ञानिक व्यवस्थापनका लागि बन्ध्याकरणको विकल्प रोजिएको हो । उहाँले भन्नुभयो, ‘हामीले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालनको तयारी गरेका छौँ । यसका लागि सङ्घीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।’
बाँदरको प्रजनन दर न्यूनीकरण गरी समस्याको दीर्घकालीन समाधान खोज्ने लक्ष्यसहित गाउँपालिकाले प्राविधिक जनशक्ति परिचालन र उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बाँदरले मकै, कोदो र आलु लगायतका बालीमा अपूरणीय क्षति पुर्याइरहेकाले मानव वन्यजन्तु द्वन्द्व कम गर्न यस्तो ठोस कदम चाल्न लागिएको बताउनुभयो ।
कार्यक्रमको पहिलो चरणमा बाँदरको अवस्था र सङ्ख्याबारे विस्तृत खोज तथा अध्ययन गर्न गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ । यो योजना सफल भएमा जिल्लाका अन्य क्षेत्रमा समेत मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।