हेटौँडा उपमहानगरपालिकाद्वारा मठमन्दिरको तथ्याङ्क अद्यावधिक सुरु, व्यवस्थित पर्यटकीय गन्तव्य बनाइने

हेटौँडा, ३० असार । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका मठमन्दिर तथा धार्मिक सङ्घ–संस्थाहरूको विवरण एवं तथ्याङ्क अद्यावधिक गर्न सुरु गरेको छ। उपमहानगर क्षेत्रका धार्मिक स्थलहरू विधिवत् रूपमा दर्ता भए–नभएको र उनीहरूको विद्यमान भौतिक अवस्था कस्तो छ भन्ने यकिन गर्न यो प्रक्रिया थालिएको हो।

उपमहानगरपालिकाका सञ्चार तथा सूचना प्रविधि अधिकृत भानुभक्त थपलियाका अनुसार यहाँका विभिन्न धार्मिक स्थलहरूमा बर्सेनि राज्यको तर्फबाट बजेट लगानी भइरहेको छ। “राज्यको लगानी हुने धार्मिक संस्थाहरूको कानुनी हैसियत र दर्ताको अवस्था बुझ्न यकिन तथ्याङ्क आवश्यक भएकाले विवरण सङ्कलन गर्न लागेका हौँ,” उनले भने। तथ्याङ्क सङ्कलनका लागि प्रत्येक वडा स्तरमा आवश्यक छलफल र समन्वयको काम अगाडि बढाइएको छ।

कूल १९ वटा वडा रहेको हेटौँडा उपमहानगर क्षेत्रभित्र विशिष्ट धार्मिक तथा ऐतिहासिक महत्त्वका चुरियामाई, भुटनदेवी, मनकामना, पाथीभरा, भुवनेश्वर पशुपति, गोरक्षक्षेत्र र लक्ष्मीनारायण मन्दिर लगायतका सम्पदाहरू रहेका छन्।

मठमन्दिरसहितका धार्मिक र सांस्कृतिक सम्पदाहरूको एकीकृत तथ्याङ्क अद्यावधिक गरेपछि यसलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना उपमहानगरपालिकाको रहेको छ। यसबाट नगरको आन्तरिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ।