गत आर्थिक वर्षमा २४ खर्ब ११ अर्बको वैदेशिक व्यापार, व्यापार घाटा १७ खर्ब ८१ अर्ब नाघ्यो
काठमाडौँ, ७ साउन । आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापारको आकार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबर थियो ।
वैदेशिक व्यापारको आकार बढेसँगै मुलुकको व्यापार घाटामा पनि वृद्धि भएको छ । विभागका अनुसार अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १६ दशमलव ६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ थियो ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ९३ प्रतिशत रहँदा निर्यातको हिस्सा भने केही खुम्चिएर १३ दशमलव शून्य ७ प्रतिशतमा सीमित भएको छ ।
गत आवमा २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १६ दशमलव २० प्रतिशतले बढी हो । त्यस्तै, निर्याततर्फ १३ दशमलव ८१ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २ खर्ब ७७ अर्ब ३ करोडको निर्यात भएको थियो ।
नेपालले आयात गर्ने वस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठुलो छ ।
प्रमुख आयात: डिजेल (१ खर्ब ७२ अर्ब ४२ करोड), भटमासको कच्चा तेल (१ खर्ब ३२ अर्ब ७६ करोड), पेट्रोल (७७ अर्ब २६ करोड), एलपी ग्यास (६० अर्ब २८ करोड) र स्मार्टफोन (४८ अर्ब ६९ करोड) ।
प्रमुख निर्यात: प्रशोधित भटमासको तेल (१ खर्ब २८ अर्ब ७४ करोड), अलैँची (१२ अर्ब ६४ करोड), ऊनी गलैँचा (१० अर्ब ३८ करोड) र सूर्यमुखी तेल (८ अर्ब ९४ करोड) ।
नेपालको वैदेशिक व्यापारमा भारत र चीनको वर्चस्व कायमै छ, तर दुवै देशसँग ठुलो व्यापार घाटा रहेको छ ।
भारत: १२ खर्ब १० अर्ब ६० करोडको आयात हुँदा २ खर्ब ५८ अर्ब ६५ करोडको मात्र निर्यात भएको छ । भारतसँगको व्यापार घाटा ९ खर्ब ५१ अर्ब ९५ करोड छ ।
चीन: ४ खर्ब २५ अर्ब २४ करोडको आयात हुँदा १ अर्ब ८९ करोडको मात्र निर्यात भएको छ । चीनसँग ४ खर्ब २३ अर्ब ३५ करोड व्यापार घाटा छ ।
भन्सार नाकाका आधारमा वीरगञ्ज नाका सबैभन्दा अगाडि देखिएको छ । कुल आयातको ४७ दशमलव शून्य ५ प्रतिशत (९ खर्ब ८६ अर्ब ४३ करोड) र कुल निर्यातको ३६ दशमलव ४३ प्रतिशत (१ खर्ब १४ अर्ब ८५ करोड) कारोबार यही नाकाबाट भएको छ । आयातमा भैरहवा र विराटनगर नाका क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने निर्यातमा विराटनगर नाका दोस्रो स्थानमा रहेको विभागको तथ्याङ्कले देखाएको छ ।