काँग्रेसले अविश्वास प्रस्ताव ल्याउँदैन : देउवा
मोरङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने र अविश्वास प्रस्ताव पनि नल्याउने बताउनुभएको छ ।
विराटनगरमा आज पत्रकारसँगको कुराकानीमा उहाँले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने स्पष्ट पार्नुभयो ।
देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताउनुभयो । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उहाँले ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’
कांग्रेस अहिलेको सरकारलाई स्वीकारेर अगाडि बढ्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले दोहोर्याउनुभयो, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’
सभापति देउवाले केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।