बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार उच्च जोखिममा
काठमाडौ, भदौ ४ । बाजुराको गौमुल गाउँपालिका ३ कटीगाउँमा मंगलबार दिउँसो वर्षासँगै आएको पहिरोले दुईवटा घर पूर्ण रूपमा पुरिएका छन् । अविरल वर्षाका कारण घरमाथिबाट खसेको पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घरमा क्षति पुर्याएको हो ।
वडाध्यक्ष गोरखबहादुर बोहराका अनुसार पहिरोले घरसँगै भित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र पशुचौपायासमेत पुरिएका छन् । पहिरो दिउँसोको समयमा खसेकाले घरमा रहेका मानिसहरू भागेर ज्यान जोगाउन सफल भएका छन्, जसले गर्दा मानवीय क्षति हुन पाएन ।
भिरालो जमिन र लगातारको वर्षाका कारण सोही बस्तीका अन्य २० परिवार पनि पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय बासिन्दा भरत बोहराले वर्षा जारी रहेको र रातको समय भएकाले उद्धार एवं व्यवस्थापनमा कठिनाइ भइरहेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले घट्मुनास्थित प्रहरी चौकीबाट प्रहरीको टोली त्रिपाललगायतका राहत सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेको बताउनुभयो । गाउँपालिकाको केन्द्रबाट घटनास्थल पुग्न करिब चार घण्टाको पैदल दूरी रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।