नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ४० करोड नाघ्यो

काठमाडौँ, ४ भदौ । धितोपत्र बजारमा लगातार चार कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से परिसूचक बिहीबार सुधार भएको छ। आज नेप्से परिसूचक ७.१७ अङ्कले बढेर २,६२९.४० विन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स १.८८ अङ्क, फ्लोट इण्डेक्स ०.४२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अङ्कले बढेको छ। परिसूचकसँगै आज सेयर कारोबार रकममा पनि सुधार देखिएको छ। बुधबार रु ३ अर्ब २९ करोडको सेयर कारोबार भएको बजारमा आज ३४५ कम्पनीको ४७ हजार ९१९ पटकको कारोबारमा रु ४ अर्ब ४० करोड १४ लाख ९ हजार बराबरको ९५ लाख ७६६ कित्ता सेयर खरिदबिक्री भएको छ।

आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्य निरन्तर सातौँ कारोबार दिन र सर्वोत्तम पेन्ट्सको सेयर मूल्य निरन्तर छैटौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै, एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाई मूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ भने कुमारी धनवृद्धि योजनाको इकाई मूल्य सर्वाधिक ९.७७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज नौ वर्षे एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ। सो बण्डको रु ५० करोड ६५ लाख बराबरको कारोबार भएको छ। यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको रु ३० करोडभन्दा बढी र सोलु हाइड्रोपावरको करिब रु २३ करोडको सेयर खरिदबिक्री भएको छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ। जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशतले बढ्दा बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अङ्कले बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *